काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउ परेको घटनालाई नयाँ पुस्ताको राजनीतिक अभ्यासलाई सिध्याउन चालिएको परिपञ्चका रूपमा टिप्पणी गरेको छ ।
शुक्रबार साँझ पार्टी कार्यालयबाट सभापति लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ गरेको थियो ।
पक्राउ परेका लामिछानेलाई प्रहरीले स्थल मार्गबाट पोखरा लागिरहेको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले पक्राउ पर्नु अघि पार्टी कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको प्रतिक्रिया दिएका छन् ।
पार्टी सभापति लामिछाने पक्राउ परेपछि प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले सत्तारुढ दलले नयाँ पुस्ताको राजनीतिक अभ्यासलाई सिध्याउन चाहिरहेको बताए ।
प्रवक्ता झाले जनतालाई अप्ठ्यारोमा पार्ने र अर्थतन्त्रलाई हानि नोक्सानी पुग्ने खालका कुनै गतिविधि नगर्ने प्रष्ट पार्दै लामिछाने पक्राउ परेको घटनालाई राजनीतिक परिवर्तनको लडाईँका रूपमा लिने बताए ।

















