अर्जुनधारा-झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११ औँ वार्षिक साधारणसभा मंगलवारदेखि इकाइगत रुपमा सुरु भएको छ । सदस्य सेवा केन्द्र शनिश्चरेबाट शिक्षा बहुउद्देश्यीयले इकाइगत साधारणसभा प्रारम्भ गरेको हो ।
शनिश्चरेस्थित सामुदायिक भवनमा आयोजित इकाइ भेलाको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी छन् ।
कार्यक्रममा बोल्दै पराजुलीले विपन्न नागरिकको जीवनस्तर सुधार्न आयआर्यनका कार्यक्रममा सहकारी संस्थाहरुले लगानी बढाउँदै लैजानु पर्नेमा जोड दिइन् ।

आफ्ना सदस्यलाई अधिकतम् सुविधा दिने गरी शिक्षा सहकारीले नयाँ योजना अगाडि सारेको जनाउँदै उपप्रमुख पराजुलीले सेवा केन्द्रको नेतृत्व तथा व्यवस्थापन र विद्यालयमा महिलाहरुलाई प्राथमिकता दिएर राम्रो काम गरेको बताइन् ।

११ औँ साधारणसभा अन्तरगत इकाइगतरुपमा सदस्यहरुसँग संस्थाको नीति तथा कार्यक्रमका विषयमा छलफल गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । उनले आफ्ना सदस्यहरुलाई न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्ने दीर्घकालिन योजना बनाइएको जानकारी दिए ।

२०६९ सालमा स्थापना भएको शिक्षा बहुउद्देश्यीयमा पाँच हजारको हाराहारीमा सदस्य छन् । सहकारीले शनिश्चरेसहित पाँचवटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई वित्तिय सेवा दिँदै आएको छ ।

सहकारी विद्यालय सञ्चालनको मुख्य अवधारणासहित स्थापना भएको शिक्षा सहकारीले आफ्नै व्यवस्थापनमा पूर्व प्राथमिक तहको विद्यालय पनि सञ्चालन गरिरहेको छ ।
तीन करोड ४९ लाख रुपैयाँ शेयर पूँजी भएको शिक्षा बहुउद्देश्यीयमा दुई करोडको हाराहारीमा कोष रकम रहेको छ । संस्थाले आफ्ना शेयर सदस्यलाई अधिकतम् दुई लाखसम्म उपचार खर्चको व्यवस्था गर्दै आएको छ ।
