पोखरा-आहा रारा गोल्डकपको खर्च विवरण सार्वजनिक भएको छ । आयोजक सहारा क्लब पोखराले मंगलवार पत्रकार सम्मेलन गरी खर्च विवरण सार्वजनिक गरेको हो ।
क्लवका महासचिव रामजीप्रसाद अधिकारीले गोल्डकपको २२ औँ संस्करणमा तीन लाख १८ हजार बचत भएको बताए । यसअघिका तीन संस्करणमध्ये दुईवटामा मुस्किलले खर्च धान्ने अवस्था रहेको थियो ।
२०७९ पुस १४ देखि २३ गतेसम्म पोखरा रङ्गशालामा भएको २२ औँ संस्करणमा टिकट बिक्री एवम् विभिन्न प्रायोजकबाट ९४ लाख ६५ हजार रकम सङ्कलन भएको थियो ।
महासचिव अधिकारीका अनुसार उक्त प्रतियोगितामा १० हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्दा टिकट बिक्रीबाट १७ लाख ८६ हजार सङ्कलन भएको थियो ।
गोल्डकपको उपाधि सङ्कटा क्लबले हासिल गरेको थियो । फुटबल खेलाएरै क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ ।