१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

झापा प्रहरीद्वारा डाका र खोटा चलन मुद्दाका दुई अपराधी पक्राउ



बिर्तामोड-डाका र खोटा चलन मुद्दाका दुई फरार अपराधी प्रहरीको फन्दामा परेका छन् । अदालतको फैसला कार्यान्वयनका लागि खटिएको जिल्ला प्रहरी कार्यालय झापाको टोलीले उनीहरुलाई समातेको हो ।

पक्राउ पर्नेमा इलामको दानावारी घर भएका दीपेश भनिने बीरवल राई र पाँचथर सिदिनका मणि जवेगु भनिने बुद्धिकुमार केरुङ रहेका छन् । राई डाका मुद्दाका अपराधी हुन् भने केरुङ खोटा चलन मुद्दाका अपराधी रहेको प्रहरीले जनाएको छ ।

राईलाई झापा जिल्ला अदालतले ६ वर्ष कैद र तीनलाख नौ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसला आएको छ वर्षपछि राई पक्राउ परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रहरीका अनुसार केरुङलाई भने तीन वर्ष कैद र १० लाख ३३ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो । उनी चार वर्षदेखि लुकी छिपी बस्दै आएका थिए ।

पक्राउ परेका दुवै जनालाई अदालतको आदेश अनुसार बिहीवार कैद सजाय भुक्तानको लागि झापा कारागार चलान गरिएको प्रहरी प्रवक्ता डीएसपी रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार ००:००  ८ : ५५ बजे