१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

महिलाहरूको व्यवसायिक सीप तथा क्षमता बढाउन अचार बनाउने तालिम



बिर्तामोड-महिला उद्यमी संघ झापाले महिलाहरूको व्यवसायिक सीप तथा क्षमता बढाउने उद्देश्यले अचार बनाउने तालिम आयोजना गरेको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर–५ को आर्थिक सहयोगमा उद्यमी संघले तीनदिने तालिम आयोजना गरेको हो । तालिम बिहीवार सकिएको छ ।

संघकी अध्यक्ष सुष्मा भण्डारीका अनुसार तालिममा २२ जना महिला सहभागी भएका छन् । उनीहरूले विभिन्न प्रकारका अचार बनाउने तालिम लिएका हुन् ।

उद्यमशीलताको विकास गरी आत्मनिर्भर बनाउँदै आयआर्जनको बाटोमा महिलाहरुलाई अग्रसर गराउने उद्देश्यले तालिम आयोजना गरिएको अध्यक्ष भण्डारीले बताइन् ‌।

भण्डारीको नेतृत्वमा सङ्घको जिम्मेवारी हस्तान्तरण भएयता यो पहिलो तालिम हो ‌। यसअघि गोमा भट्टराईको नेतृत्वमा रहेको संघले महिलाहरुको सीप तथा क्षमता विकासमा निरन्तर जोड दिँदै आएको थियो ।

तालिम समापनका अवसरमा बोल्दै वडाध्यक्ष रोहित प्रसाईले आफूले सिकेको सीपलाई व्यवहारमा उतार्न सके आयआर्जनको बाटोमा अग्रसर हुन सकिने बताए । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउने काममा वडाले निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरे ।

समापन कार्यक्रममा सहभागी वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले आफूले सिकेको सीपमार्फत महिलाहरु आर्थिक उपार्जनको बाटोमा लाग्नुपर्ने बताइन् ।

तालिमका प्रशिक्षक दीनानाथ शिवाकोटीले हातमा सीप भए नाम र दाम दुवै हुने बताए । अहिलेसम्म ११० ठाउँमा प्रशिक्षण दिएको अनुभव सुनाउँदै शिवाकोटीले काम र अभ्यासले उद्यमी बनिने बताए ।

महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाले उत्पादन गरेर मात्रै नहुने बताउँदै त्यसका बजार चाहिने बताइन् ।

सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोलले महिलाहरु आयआर्जनको बाटोमा लाग्न सके मात्र समाज रुपान्तरणको अभियान सफल हुने बताइन् ।

युवा उद्यमी मञ्चका अध्यक्ष प्रवेश बस्नेतले स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बिर्तामोड खानेपानीकी कोषाध्यक्ष शारदा रिजाल लगायतले बोलेका थिए ।

महिला उद्यमी संघकी महासचिव यमुना तिवारीले सञ्चालन गरेको कार्यक्रममा शर्मिला अधिकारीले स्वागत गरेकी थिइन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार ००:००  ९ : ३२ बजे