झापा- भारतले नेपालमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गरिदिने भएको छ ।
१७ जेठदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सिलुगडीदेखि झापाको चारआलीसम्म दोस्रो अन्तर देशीय पाइप लाइन र भण्डारण डिपो निर्माणको समझदारी हुँदैछ ।
अनलाइन खबर अगाडि लेख्छ, ‘भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न समझदारी हुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताए ।
नेपालस्थित भारतीय दूतावास र नेपाली अधिकारी बीच पेट्रोलियम पाइपलाइन परियोजनासहित दुई पक्षीय वाणिज्य व्यापारका एजेण्डामा सहमति जुटिसकेको छ ।
गत २७ र २८ पुस २०७६ मा भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्याँस जोइन्ट वर्किङ समूहको पहिलो बैठकमा नेपालले सिलुगडी–झापा पेट्रोलियम पाइप लाइनको सम्भाव्यता अध्ययन गर्न भारतसमक्ष प्रस्ताव गरेको थियो ।
करिब ३५ किलोमिटर लामो उक्त परियोजनाका लागि २०७६ फागुनमा भारतीय आयल कर्पोरेसन आईओसीले पाइपलाइन क्षेत्र रेखाङ्कन गरेको थियो । झापामा ५० देखि ६० हजार किलोलिटर क्षमताको इन्धन भण्डारण गर्न सकिने अध्ययनमा देखिएको छ ।