१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने तयारी



काठमाडौँ- सरकारले टीकापुर घटनामा डिल्लीबजार कारागारमा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया अघि बढाएको छ । आममाफीलाई लिएर पठाएको पत्रमाथि राष्ट्रपति कार्यालयले अध्ययन र परामर्श थालेको हो ।

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले बुधबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालयको पत्र राष्ट्रपति कार्यालयमा पुगेको र कार्यालयले अध्ययन थालेको बताए ।

टीकापुर काण्डमा जन्मकैद सजाय भोगिरहेका चौधरी हाल नागरिक उन्मुक्ति पार्टीका संरक्षक छन् भने उनको पार्टी सत्ता गठबन्धनमा छ ।

गणतन्त्र दिवस १५ जेठमा चौधरीलाई माफी दिने प्रक्रिया थालिएको छ । तर, संसद् अधिवेशन जारी रहेका वेला यो प्रस्तावले राजनीतिक रूप र विवाद लिने जोखिम छ ।

संविधानको धारा २७६ मा राष्ट्रपतिबाट आममाफीको व्यवस्था गरिएको छ । यसमा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ००:००  ८ : १७ बजे