२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

पहिचानवादीसँग वार्ता गर्न कांग्रेसको आग्रह



विराटनगर- नेपाली कांग्रेस कोसी प्रदेश समिति एवम् कांग्रेस संसदीय दलको कार्यालयले कोसी प्रदेश नामकरणका विरुद्ध संघर्षरत पक्षलाई वार्तामा बोलाई उचित माग सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस कोसी प्रदेश सभापति एवम् संसदीय दलका नेता उद्धव थापाले बिहीवार विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका छन् ।

नेता थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनरत पक्षलाई दमन नगर्न र समस्या समाधानका लागि पहल गर्न प्रदेश सरकारलाई सचेत गराइएको छ ।

प्रदेशको नामकरण पश्चात उत्पन्न परिस्थितिका कारण बेलबारी २ लालभित्ती मोरङ्ग निवासी पदमबहादुर लिम्बु लाजेहाङको निधन भएको घटनाप्रति थापाले गहिरो दुःख ब्यक्त गरेका छन् ।

सभापति थापाले आन्दोलनमा घाइते भएका इलाम चुलाचुली–१ का गजेन्द्र फागो र झापा अर्जुनधारा–११ की निर्मला क्षेत्री लिम्बु लगायतका घाइतेको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

घाइतेको औषधि खर्च ब्यहोर्न कोसी प्रदेश सरकारसँग माग पनि गरिएको छ । फागो र क्षेत्री गत बैशाख २६ गते दमकमा भएको प्रदर्शनका क्रममा घाइते भएका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ००:००  ८ : ०५ बजे