२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

अर्जुनधारामा ८० विघा क्षेत्रफलमा धानको बीउ उत्पादन हुँदै



झापा- अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष धानको बीउ बृद्धि गर्ने योजना अगाडि सारेको छ । धानको बीउमा नगर क्षेत्रका कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो योजना अगाडि सारिएको हो ।

८० विघा क्षेत्रफलमा धानको रैथाने जातको उत्पादन गर्ने लक्ष्य राखिएको छ । धानसँगै सहकारीले रैथाने जातको मकैको बीउ समेत उत्पादन गर्न कृषकलाई सहयोग गरिरहेको सहकारीका अध्यक्ष प्रत्युस राना मगरले जानकारी दिए ।

सहकारीले नगरका कृषकसँग बीउ बृद्धिका लागि दुई दिने कार्यशालाको आयोजना पनि गरेको छ । कोसी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौलाले कार्यशालाको उद्घाटन गरेका छन् ।

कार्यशालाको उद्घाटन गर्दै मन्त्री सिटौलाले बाह्य देशबाट खाद्यान्य लगायतका बस्तु आयात रोक्न लाग्नु पर्ने बताए । उनले आधुनिक खेती प्रणाली अवलम्वन गर्ने बेला आइसकेको बताउँदै उन्नत जातको बीउ, मलखाद र ज्यादा उत्पादन दिने जातको बाली लगाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले अर्जुनधारा नगरपालिका कृषिमा आधारित नगर भएको बताउँदै कृषकलाई कृषि उत्पादनमा सहयोग पु¥याउन विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले भने, –अहिलेको प्रविधिको प्रयोग गर्दै उन्नत जातका बीऊ विजन उत्पादनमा जोड्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।

नगर क्षेत्र भित्र उत्पादन भएका बस्तुले अहिले बजार नपाउने गरेको बताउँदै बजारको खोजी गर्न संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गरे । स्थानीय सरकारको बजेटले मात्रै नगरले लिएको लक्ष्य सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकारले सहयोग गर्नु पर्ने मेयर गोम्देनले बताए ।

कार्यक्रममा पूर्व सांसद वृख प्रधान, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, सतासी सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहकारीका उपाध्यक्ष छत्र पौडेलले गरेका थिए ।

संस्थाले यसअघि दिएको तालिममा सहभागी भएर कृषिलाई व्यवसायिकीकरण गरी उन्नत जातका बीउ, बीजन प्रयोग गरी उत्पादनमा जोड दिएको भन्दै एक दर्जन कृषकलाई सो समारोहमा सम्मान समेत गरिएको थियो । तालिममा ६४ जनाको सहभागिता रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार ००:००  ४ : ४५ बजे