२७ जेष्ठ २०८०, शनिबार | Sun Jun 11 2023

सदस्यसँग खुला सम्वाद गर्दै शिक्षा सहकारी



झापा-झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यसँग खुला सम्वाद शुरु गरेको छ ।

सदस्य शिक्षा कार्यक्रममार्फत् संस्थाले प्रदान गर्ने सेवा–सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा अन्तरक्रिया गर्दै दोहोरो कुराकानी गर्ने उद्देश्यले खुला सम्वाद शुरु गरेको हो ।

शिक्षा बहुउद्देश्यले बुधवार मेचीनगरस्थित धुलाबारी सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम आयोजना गरेको छ । प्रत्येक सदस्यसँग सल्लाह र सुझाव लिने उद्देश्यले सदस्य शिक्षा कार्यक्रम शुरु गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।

‘अहिलेको वित्तीय संकटको अवस्थामा सहकारीबारे विभिन्न भ्रम सिर्जना भइरहेको छ’, उनले भने, ‘सहकारी अभियानविरुद्धको भ्रम चिर्न र संस्थाको वस्तुस्थिति बारे सदस्यलाई जानकारी दिन कार्यक्रम गरेका हौँ ।’

संस्थासँग सदस्यको अपेक्षा र संस्थाको श्रीबृद्धिमा गर्नुपर्ने कामको बारेमा सुझाव लिन सदस्य शिक्षा कार्यक्रम गरिएको अध्यक्ष न्यौपानेले बताए ।

कार्यक्रममा सेवा केन्द्र धुलाबारीका शेयर सदस्य लक्ष्मीप्रसाद पाठक, अम्बिका कोइराला, जिना खत्री क्षेत्री, सुमिना खनाल, तारादेवी अधिकारी, शारदा ढकाल लगायतका सदस्यले संस्थाले प्रदान गर्ने सेवा सुविधा, ऋण र बचतको ब्याजदर, वित्तीय अवस्था लगायतका विषयमा जिज्ञासा राखेका छन् ।

सदस्यहरुले आफू संस्थाबट पूर्ण सन्तुष्ट रहेको समेत बताएका छन् । सदस्यबाट आएको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष न्यौपानेले एउटा सदस्यले गरेको बचत अर्को सदस्यलाई ऋणको रुपमा दिइने भएकाले नियमित किस्ता गर्न अनुरोध गरे ।

कार्यक्रमको सञ्चालन सचिव सूर्यकुमार खतिवडाले गरेका थिए भने स्वागत सेवा केन्द्र प्रमुख विपना तिम्सिनाले गरेकी थिइन् । कार्यक्रममा सञ्चालक समिति सदस्य चीजा राई, लक्ष्मीप्रसाद घिमिरे, शिक्षा उपसमिति सदस्य सन्तोष शर्मा र सेवा केन्द्र धुलाबारीका कर्मचारीको उपस्थिति रहेको थियो ।

मुल कार्यालय बिर्तामोड र पाँचवटा सेवा केन्द्र धुलाबारी, धाइजन, शनिश्चरे, दुर्गापुर र चैतुबारीबाट वित्तिय सेवा प्रदान गर्दै आएको शिक्षा बहुउद्देश्यीय सहकारीले क्रमशः सबै सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम गर्ने संस्थाका सचिव खतिवडाले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार ००:००  ७ : ४७ बजे