१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अवैध आयातमा कर्मचारीको संलग्नता छैन् : मेची भन्सार कार्यालय



काँकडभिट्टा– मेची भन्सार कार्यालय काँकडभिट्टाले भारतबाट भन्सार छलेर भारतीय ट्रकमा सामान भित्रिएको भनिएको घटनामा भन्सार कर्मचारीको संलग्नता नरहेको जनाएको छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले भन्सारका कुनै पनि कर्मचारी प्रलोभनमा नपरेको जनाउँदै घटनामा कर्मचारीको संलग्नता नदेखिएको बताए ।

बैशाख तेस्रो साता मेची भन्सार कार्यालयमा एकदिनको भन्सार शुल्क तिरेर बाहिरिएको WB73A4266 नम्बरको ट्रकलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा ११ लाख बराबरको सामान भेटिएको थियो ।

भन्सार परिसर भित्रबाट निस्किएको भारतीय ट्रकमा अवैध सामान फेला परेपछि घटनामा भन्सार कर्मचारीको संलग्नता रहेको आशंका गरिएका बेला भन्सार प्रमुख पाठकले प्रारम्भिक चरणमा अनुसन्धान गर्दा कर्मचारीको संलग्नता नदेखिएको स्पष्ट पारेका हुन् ।

भन्सार प्रमुख पाठकका अनुसार उक्त ट्रकले नियमितरुपमा चिया बाेक्दै आएको छ । ट्रकका चालकले फल्स बटम लगाएर अबैधरुपमा सामान भित्र्याएकाे भन्सार प्रमुख पाठक बताउँछन् ।

प्रहरीका अनुसार ट्रकको क्याविन, छत र अन्य विभिन्न ठाउँमा लुकाइछिपाई नेपाल भित्र्याइएको ३५ थान स्मार्ट फोन, २४ कार्टुन टायल, दुई कार्टुन औषधि र राधेराधे लेखेको ३७८० थान गम्छा भेटिएको थियो ।

यो घटनापछि मेची भन्सार कार्यालयले भारतबाट प्रवेश गरेका सबै ट्रकमा प्रभावकारी रुपमा चेकजाँच गर्न कर्मचारीलाई निर्देशन पनि दिएको छ ।

सरसर्ती हेर्दा ट्रक खाली देखिए पनि चालकले चलाखी गरेको हुन सक्नेतर्फ सचेत रहन कर्मचारीलाई निर्देशन दिइएको भन्सार प्रमुख पाठकले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००  ६ : ४१ बजे