८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारतका विभिन्न तीन सहरमा नेपाल प्रबर्द्धन कार्यक्रम



बिर्तामोड- भारतका विभिन्न तीन सहरमा ‘नेपाल प्रबर्द्धन कार्यक्रम २०२३’ हुने भएको छ । कोसी प्रदेशसहित नेपालमा भारतीय पर्यटक भित्र्याउने उद्देश्यसहित तीन सहरमा कार्यक्रम हुन लागको हो ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा कोसी प्रदेशको सह आयोजनामा जेठ ८ गतेदेखि १३ गतेसम्म यो कार्यक्रम सञ्चालन हुनेछ ।

भारतको सिलिगुढी, असमको गुवहाटी र मेघालयको सिलोंगमा नेपाल प्रबर्द्धन कार्यक्रम गरिन लागेको नेपाल पर्यटन बोर्डका सेल्स एन्ड मार्केटिङ म्यानेजर सूर्य थपलियाले बताए ।

भारतको सिलिगुढी, असमको गुवहाटी र मेघालयको सिलोंगमा रहेका ट्राभल एजेन्सी, ठूला होटल सञ्चालक, कर्मचारी, विभिन्न व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिहरुसँग बिजनेस टु बिजनेस कार्यक्रम गरिने नाटा कोसी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए ।

कोसी प्रदेश तथा नेपालमा बढी भन्दाबढी भारतीय पर्यटक भित्र्याउन उनीहरुलाई नेपाल घुम्न आउन प्रेरित गर्न कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए ।

कार्यक्रममा नेपाल टुरिजम बोर्डका अधिकृत गोपाल भण्डारी, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स लगायत सहभागी हुनेछन् ।

भारतीय पर्यटकलाई कोसी प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रका विषयमा जानकारी प्रदान गर्दै उनीहरुलाई ती क्षेत्र घुम्न आग्रह गर्ने नाटा कोसी प्रदेशका महासचिव नविन खरेलले जानकारी दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ००:००  ७ : ५९ बजे