१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बिर्तामोड खानेपानीको निर्वाचन : स्वतन्त्र प्रगतिशील प्यानल र लोकतान्त्रिक राष्ट्रबादी समूहका नाममा प्रतिस्पर्धा



बिर्तामोड- बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनमा विगतमा जस्तै नेपाली कांग्रेस र राप्रपाले सांगठनिक नेतृत्वका लागि चुनावी तालमेल गरेका छन् । पदीय भागवण्डामा आपसी सहमति भएपछि ती दुई दल ‘लोकतान्त्रिक राष्ट्रबादी समूह’ का नाममा निर्वाचनको मैदानमा ओर्लिएका हुन् ।

जेठ १५ मा तय भएको बिर्तामोड खानेपानीको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी लगायतको पनि संयुक्त मोर्चाबन्दी छ । स्वतन्त्र प्रगतिशील प्यानलका नाममा उनीहरु पनि मैदानमा उत्रिएका छन् ।

देवेन्द्र सिटौलाको नेतृत्वमा अगाडि सारिएको स्वतन्त्र प्रगतिशील प्यानलमा प्रदीप खरेल उपाध्यक्षका दावेदार छन् । सचिव र कोषाध्यक्षमा विष्णुप्रसाद चुडाल र विनिता राजवंशीलाई अगाडि सारिएको छ ।

अध्यक्षका दावेदार सिटौलाले आफू नेतृत्वको प्यानलले जितेपछि हाल १३ हजार रुपैयाँमा जडान गरिँदै आएको खानेपानीको धारा ९ हजार रुपैयाँमा जडान गरिने बताएका छन् । मासिक महसुल दर घटाउने, ठाउँ–ठाउँमा सार्वजनिक धारा जडान गर्ने लगायतका प्रतिवद्धता सिटौलाले राखेका छन् ।

कांग्रेस र राप्रपाको साझा उमेद्वारका रुपमा मेघराज बाँस्तोला अगाडि सारिएका छन् । यसअघि उनी बिर्तामोड खानेपानीमा सचिवको भूमिकामा थिए । खानेपानी संस्था सञ्चालनको लामो अनुभव भएकाले कांग्रेसले अरु आकांक्षीलाई पन्छाएर बाँस्तोलाको नेतृत्व रोजेको हो ।

‘मेघराजजीमा कुशल व्यवस्थापकीय क्षमता छ । अरु आकांक्षी हुँदाहुँदै हामीले उहाँलाई रोजेका छौँ’, आइतवार बिहान आयोजित उमेद्वारी घोषणा सभामा कांग्रेसका जिल्ला सभापति देउकुमार थवेले भने । सभामा अहिलेका अध्यक्ष जलकुमार गुरुङले उमेद्वारको नाम घोषणा गरेका थिए ।

यसअघि उपभोक्ताले दिएको जनमतको अवमूल्यन नहुने गरी आफू नेतृत्वको समितिले काम गरेको अध्यक्ष गुरुङले बताए । ‘अहिले जुनसुकै बेला धारामा पानी आउँछ । हामीले गरेको मेहनतको परिणाम हो यो’, अध्यक्ष गुरुङले भने ।

लोकतान्त्रिक राष्ट्रबादी समूहले बाँस्तोलाको नेतृत्वमा शैलेन्द्र सिटौलालाई उपाध्यक्षको उमेद्वार बनाएको छ । पारस मैनाली सचिव र शारदा रिजाल कोषाध्यक्षको उमेद्वार छन् । खुलातर्फ आनन्द गुरुङ र खगेन्द्र थापाको उमेद्वारी छ । महिला सदस्यका रुपमा बालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल उमेद्वार छन् ।

लोकतान्त्रिक राष्ट्रबादी समूहले वर्तमान अध्यक्ष गुरुङको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको छ । कांग्रेस नगर सभापति भोजराज सिटौलाको नेतृत्वमा निर्वाचन प्रचार समिति बनाइएको छ ।

गुरुङ नेतृत्वको समितिमा कृष्ण हुमागाई, नवीन विमली, खगेन्द्र मैनाली, कुमार थापा, शंकर रिजाल, दीपक मास्के, प्रकाश सिवाकोटी, विनोद बस्नेत र रञ्जु प्याकुरेल छन् ।

उमेद्वारी घोषणा सभामा बोल्दै संविधान सभाका सदस्य कांग्रेस नेता सुधिरकुमार सिवाकोटीले दुई दल सहमति पालनामा अधिकतम् इमान्दार हुनुपर्ने बताए । राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले निर्वाचनको अवधिभर आफ्नो उमेद्वार जिताउन अहोरात्र खट्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार ००:००  ७ : ३७ बजे