२७ जेष्ठ २०८०, शनिबार | Sun Jun 11 2023

बिर्तामोडका अर्नभलाई जिताउन लागे देशभरका शुभेच्छुक



बिर्तामोड– बिर्तामोडका अर्नभ बन ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को फाइनल राउण्डमा प्रवेश गरेपछि देशभर उनलाई भोटिङ गर्नेको संख्या बढेको छ । बिर्तामोडको ग्रीनफिल्ड वल्र्ड स्कुलमा अध्ययनरत १२ बर्षीय अर्नभलाई देशभरका समर्थकले फिनालेसम्म पुर्याएका हुन् ।

आफ्नै बिद्यालयका बिद्यार्थीले समेत विभिन्न समूह बनाएर उनलाई भोटिङ गर्दै बिजेता बनाउन सबै समक्ष आग्रह गरिरहेका छन् ।

स्वर र प्रस्तुतिका कारण निर्णायक र समर्थकको रोजाईमा परेका उनलाई शुक्रवार बेलुका ८ बजेभन्दा अघिसम्म भोट गर्न सकिन्छ ।

भोटिङ राउण्ड टप २४ बाट १६ हुँदै टप ८ (फिनाले) राउण्डमा प्रवेश गरेका अर्नभलाई भोटिङ गर्न झापा, इलामसहित देशभर नै समूह गठन गरिएको छ ।

झापाको बिर्तामोड, बुधवारे, दमक, चन्द्रगढी, धुलाबारी, इलामको फिक्कल, इलाम बजार, कन्याम, पशुपतिनगर, काठमाडौंसहित बिभिन्न स्थानमा अर्नभका समर्थकले समूह बनाएर भोटिङ गरिरहेका छन् ।

सानैदेखि गीत संगीतमा रुचि राख्दै आएका अर्नभलाई धेरै भन्दा धेरै भोट गरेर बिजेता बनाइदिन उनका बुबा आशिष बनले आग्रह गरेका छन् ।

अर्नभकी आमा जीना सापकोटाले टिम प्रविशामा रहेका अर्नभलाई खल्ती एप्प डाउनलोड गरेर भोट गरी विजेता बनाउन अनुरोध गरेकी छिन् ।

गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को फाइनल राउन्ड हिमालय टेलिभिजनमा जेठ ५ गते शुक्रबार राति ८ बजे प्रशारण हुनेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार ००:००  ८ : ५३ बजे