१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

स्तरीय डिजिटल शैक्षिक सामग्री निर्माणका लागि विषयगत शिक्षकलाई प्रविधि मैत्री तालिम दिइँदै



बिर्तामाेड-प्रविधि मैत्री शिक्षक समाज जिल्ला समन्वय समिति झापाले प्रविधिमा आधारित शिक्षण अभ्यासमा शिक्षकहरूलाई सहभागी गराउन तालिम आयोजना गर्ने भएको छ ।

समाजले बिहीवार साँझ झापाको बिर्तामोडस्थित हाेटल हिकाेला हेरिटेजमा पत्रकार सम्मेलन गरी शुक्रबारदेखि तालिम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

प्रविधि मैत्री शिक्षक समाज झापाका अध्यक्ष टीका सुवेदीले स्तरीय डिजिटल शैक्षिक सामग्री निर्माणका लागि विषयगत शिक्षकहरुलाई सघाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणका बेला समाजले प्रविधि मैत्री शिक्षण सामग्री निर्माण गरी शिक्षण अभ्यासमा प्रारम्भिक सुधारको प्रयास थालेको थियो ।

समयानुकूल शिक्षण अभ्यासमा सूचना र प्रविधिको प्रयोग बढाउँदै लैजाने उद्देश्यले तालिम आयोजना गरिएको समाजका सचिव तिलक गजमेर जानकारी दिए ।

तालिममा झापाकाे विभिन्न पाँचवटा स्थानीय तहबाट बिषयगत शिक्षकको सहभागिता रहनेछ । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका शिक्षकलाई तालिममा आमन्त्रण गरिएको छ ‌‌।

पहिलो चरणमा पाँच वटा स्थानीय तहको सहभागिता

पहिलो चरणमा भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाबाट करिव ५० जना शिक्षक तालिममा सहभागी हुनेछन् ‌‌।

दोस्रो चरणमा अरु स्थानीय तहका शिक्षकलाई सहभागी गराउँदै लैजाने नीति प्रविधि मैत्री शिक्षक समाजले लिएको अध्यक्ष सुवेदीले बताए । उनका अनुसार तालिम ८० घण्टाको हुनेछ ‌‌।

तालिममा सहभागी शिक्षकले प्रत्यक्षरुपमा ४० घण्टा र अनलाइनमा ४० घण्टा सिक्ने अवसर पाउनेछन् । उनीहरुले तालिमका क्रममा प्रविधिमैत्री शिक्षण सामग्री निर्माण गर्नुपर्छ ।

सहभागी शिक्षकले पाठ्यक्रमको मर्म र भावना अनुसार डिजिटल शैक्षिक सामग्री उत्पादन गरे कि गरेनन् भन्ने जाँचका लागि पाठ्यक्रम विकास केन्द्रका विज्ञको राय, सुझाव र परामर्श लिइनेछ ।

सार्वजनिक शिक्षामा प्रविधिको प्रयोग बढाउँदै पाठ कार्ययोजना बनाएर लागे मात्र शिक्षण सिकाईकाे उपलब्धि प्राप्त हुने सचिव गजमेरले बताए ।

यी हुन् तालिमका सहजकर्ता

तालिममा समाजका अध्यक्ष टीका सुवेदी, सचिव तिलक गजमेर, बन्दना भट्टराई, कर्मा शेर्पा, प्रेमबहादुर कटुवाल, पदमबहादुर दाहाल र समाजका उपाध्यक्ष रणधीर कुमार सिंहले सहजीकरण गर्नेछन् ।

शिक्षा तालिम केन्द्र सुनसरी र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा तालिम अवधि पूरा गरेका फर्किएका शिक्षक-शिक्षिकालाई सहजकर्ताका रुपमा अगाडि सारिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार ००:००  ९ : ५१ बजे