७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

झापाको बाहुनडाँगीमा हात्ती मैत्री तरकारी खेती



झापा- झापाको पूर्वाेत्तरमा रहेको बाहुनडाँगी हात्ती प्रभावित क्षेत्र हो । पाँच दशकमा मानव हात्ती द्वन्द्वका कारण ४८ जनाभन्दा बढी मानिसको ज्यान गएको छ भने एक दर्जन हात्ती मारिएका छन् ।

अहिले त्यही ठाउँमा अवकाश प्राप्त मानिसहरु मिलेर हात्तीमैत्री किसान समूह खोलेर सामूहिक खेतीमा जुटेका छन् ।

दशकौंदेखि झापाको बाहुनडाँगीमा मानव हात्ती द्वन्द्व चलिरहेको छ । हात्तीले बारम्बार बालीनाली नष्ट गरिदिने हुनाले बाहुनडाँगीका कतिपय किसानले खेतीपाती गर्नै छोडेका छन् ।

अहिले त्यही ठाउँमा साढे २ बिघा बाँझो जमिन भाडामा लिएर सामूहिक खेतीमा जुटेको छ हात्तीमैत्री किसान समूह । बीउ पुँजीका रूपमा प्रत्येक सदस्यबाट पाँच हजार रुपैयाँ उठाएका छन् ।

समूहमा २२ जना छन् । तीमध्ये १६ जना त ५० वर्ष माथिका छन् । समूहको हरेक सदस्य दैनिक काममा जुट्छन् ।

‘३ बजेदेखि हामी भेला भएर ६ बजेसम्म नियमित भेला भएर रमाइलो वातावरणमा आफूले जानेको सीप, कला प्रयोग गरेर काम गर्छौं । हामीले यहाँ रमाइलो गरेको कुरा टाढाका साथीहरुले समेत सुन्नुहुन्छ,’ हात्तीमैत्री किसान समूह बाहुनडाँगी झापाका अध्यक्ष देवीप्रसाद आचार्यले भने ।

हात्तीमैत्री समूहलाई वडा कार्यालयले प्राविधिक सहयोग गरेको छ । आर्ग्यानिक उत्पादनमा जोड दिएको छ भने बजारीकरणको जिम्मासमेत वडाले नै लिएको छ । उनीहरु हात्तीलाई दुःख नदिई बालीनाली जोगाउने प्रयासमा छन् ।

‘किसानहरुलाई हामी मलबीउ बनाउने तालिम दिन्छौं । यो अर्ग्यानिक भएकाले बजारीकरणको जिम्मा पनि वडाले नै लिएको छ,’ मेचीनगर नगरपालिका ४, का वडाध्यक्ष अर्जुन कार्कीले भने ।

शंखघण्ट बजाउँदासमेत भाग्ने हात्ती अहिले विद्युतीय तारबारले पनि छेक्न मुस्किल छ । वारिपट्टि अन्नबाली पाक्न थालेपछि मेची नदी तरेर हात्तीको लस्कर झापा छिर्छ ।

हात्तीमैत्री किसान समूहले भाडाको जमिनमा भिन्डी, बोडी, लौका, फर्सी, काँक्रा, करेला, धनियाँ, गोलभेडालगायत नगदेबाली लगाएको छ ।

कान्तिपुरबाट

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार ००:००  ८ : १८ बजे