बिर्तामोड-भाषाशास्त्री महानन्द सापकोटाको स्मृतिमा स्थापित ‘महानन्द पुरस्कार’ झापाली स्रष्टा कोमलप्रसाद पोखरेल र इलामेली साहित्यकार सुन्दर कुरुपले पाउने भएका छन् । महानन्द पुरस्कार समितिले सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी पुरस्कृत गर्न लागिएका स्रष्टाको नाम सार्वजनिक गरेको हो ।
महानन्द पुरस्कार समितिले हरेक दुई वर्षमा महानन्द पुरस्कार वितरण गर्दै आएको छ । कोरोना संक्रमण लगायतका कारणबाट रोकिएको पुरस्कार यसवर्ष वितरण गर्न लागिएको समितिका संयोजक केशव आचार्यले बताए ।
नेपाली साहित्य विकास समिति र महानन्द पुरस्कार समितिले संयुक्त रुपमा बैठक बसेर पुरस्कृत प्रतिभा छनोट गर्ने व्यवस्था छ । सोही व्यवस्थाका आधारमा अग्रज र युवा पुस्ताबाट महानन्द पुरस्कारका लागि दुई जना प्रतिभा छानिने गर्छन् ।
२०३७ सालमा गठन भएको नेपाली साहित्य विकास समिति अन्तरगत रहने गरी २०४३ सालमा महानन्द पुरस्कार समिति गठन भएको थियो । समिति गठन भएयता यसवर्ष आयोजना हुन लागेको पुरस्कार वितरण समारोह १५ औँ हो ।

महानन्द पुरस्कार समितिका सचिव चन्द्र भण्डारीका अनुसार आगामी बैशाख ३० गते इलामको रोङ गाउँपालिकास्थित देवानछापमा आयोजना गरिने विशेष समारोहमा पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।
देवानछाप भाषाशास्त्री सापकोटाको जन्मथलो हो । त्यहाँ महानन्द स्मृति प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानका अध्यक्ष वृहस्पति खतिवडाले स्रष्टा सर्जकको बाक्लो उपस्थिति रहने गरी कार्यक्रम आयोजना गरिएको बताए ।
प्रसिद्ध गीतकार दिनेश अधिकारी प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह आयोजना हुन लागेको हो । समारोहमा छानिएका स्रष्टा सर्जकले आफ्ना सिर्जना बाचन गर्ने अध्यक्ष आचार्यले बताए ।
महानन्द पुरस्कारसँगै अरु दुई पुरस्कार पनि वितरण गर्ने कार्यक्रम रहेको सचिव भण्डारीले जानकारी दिए । उनका अनुसार ‘भवानी घिमिरे रंगपून्य स्मृति साहित्य सेवा पुरस्कार’ बाट इलामेली स्रष्टा विमल बैद्य पुरस्कृत हुँदैछन् । यो पुरस्कार दोस्रोपटक वितरण गर्न लागिएको हो ।
समितिले यसवर्ष पहिलोपटक ‘हीरा आकाश पूर्ण टुङ्ग स्मृति साहित्य सेवा पुरस्कार’ पनि प्रदान गर्दैछ । यो पुरस्कार पाँचथरका स्रष्टा प्रेम ओझालाई दिइने भएको छ । चारवटै पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ छ ।
महानन्द पुरस्कार समितिका सचिव भण्डारीका अनुसार भाषाशास्त्री तथा शिक्षासेवी महानन्द सापकोटाको स्मृति दिवसमा इलामको रोङ गाउँपालिकाले सार्वजनिक बिदा दिने गर्छ । रोङ गाउँपालिकामा उनको प्रतिमा पनि राखिएको छ । सापकोटाको स्मृति दिवसमा विद्यार्थीले छात्रवृत्रि पनि प्राप्त गर्छन् ।
भाषा साहित्यका अग्रणी व्यक्तित्व थिए सापकोटा
महानन्द सापकोटा नेपाली भाषा, साहित्य, संस्कृति, शिक्षा र जनजागरणका अग्रणी व्यक्तित्व हुन् । महानन्दको जन्म पूर्वी नेपालको इलाम जिल्लाको इरौँटार देवानछापमा वि सं १९५३ साल वैशाख ३० गते पिता रामचन्द्र र माता सरस्वतीको सन्तानका रूपमा भएको थियो । उनको न्वारानको नाम यज्ञनिधि हो ।
साधारण निम्नवर्गीय कृषक परिवारमा जन्मेका महानन्दको बाल्यकाल गोठालाका रूपमै बित्यो । नौ वर्षमा पितृवियोग सहनुपरेका महानन्दले ५३ अक्षर भएको त्यसताकाको नेपाली वर्णमाला गाउँघरमै अध्ययन गरे ।
महानन्द आमासँगै भारतको आसाम राज्यको जोरहाट जिल्लामा पर्ने गोरुमारामा बस्न पुगे । पशुपालनमा दिन बित्न थाल्यो । त्यही क्रममा एक अङ्ग्रेज शिक्षकसँग सम्पर्क भई परिवारसहित महानन्द तेजपुर पुगे ।
तेजपुरपछि दार्जिलिङको सरकारी विद्यालयमा १६ वर्षमा महानन्द अङ्ग्रेजी अक्षर सिक्न थालेका थिए । भारतमा रहँदा महात्मा गान्धीको असहयोग आन्दोलनमा पनि भाग लिए ।
देहरादुनबाट प्रकाशित ‘गोर्खा संसार’ नेपाली पत्रिकामा पनि उनले सम्पादनकर्मीका रूपमा र केही समय एउटा जहाज कम्पनीमा काम गरे । देश फर्केर इलाम जिल्लाको करफोकमा बसी विसं २००७ सालको आन्दोलनमा सक्रिय रहे ।