बिर्तामोड-झापामा चार दिवसीय सदस्य जागरण अभियान सुरु गरिएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा चैत ५ देखि ८ सम्म जिल्लाका विभिन्न चार स्थानमा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी सञ्चालन भइरहेकोे हो ।
चैत ५ गते बिर्तामोड, चैत ६ गते धुलाबारी, चैत ७ गते दमक र चैत ८ गते दुर्गापुरमा यस्तो गोष्ठीको कार्यसूची बनाइएको जिल्ला संघका सचिव भवानीप्रसाद दंगाालले बताएका छन् ।
पहिलो दिन चैत ५ गते बिर्तामोडमा कार्यक्रम सम्पन्न गरिएको छ । बिर्तामोड, हल्दिबारी र अर्जुनधारामा सञ्चालित सहकारी संस्थाबाट १४० जना प्रतिनिधिको सहभागितामा गोष्ठी सम्पन्न भएको हो ।
जिल्ला संघका सञ्चालक सदस्य केशवप्रसाद बस्नेतको अध्यक्षतामा आयोजित गोष्ठीको आवश्यकता र औचित्यका बारेमा जिल्ला संघका अध्यक्ष गणेश ढकालले प्रकाश पारेका थिए ।
सहकारी अभियानलाई जोगाउन सहकारीका सदस्य र संस्थाका सञ्चालक जागरुक हुनुपर्ने अध्यक्ष ढकालले बताए । गोष्ठी उद्घाटन समारोहका सञ्चालक जिल्ला संघका सचिव दंगालले सहकारी ऐन २०७४ मा भएको व्यवस्था सरकार र मातहत विभागले कार्यान्वयन गरिदिने हो भने आजका समस्याहरु स्वतः किनारा लाग्ने दावी गरे ।
गोष्ठीको सहजीकरण बचत तथा ऋण सहकारी केन्द्रीय संघका पूर्व प्रमुख कार्यकारी अधिकृत कुवेर निरौलाले गरेका थिए । सहजीकरणका क्रममा निरौलाले अहिले सिङ्गो सहकारी अभियान अप्ठ्यारोमा परेको नभई बचत तथा ऋणको कारोबारमा मात्र समस्या सिर्जना भएको बताए ।
प्रारम्भिक सहकारी संस्थाका तीन पक्षहरु सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीबीच सक्रियता र नीतिगत तालमेल मिलेको अवस्थासम्म कुनै सहकारी धरासायी बन्नै नसक्ने निरौलाले बताए ।