२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

झापाको दुर्गापुरमा महापुराणको तयारी



कनकाई– झापाको कनकाई–१ स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा महापुराण आयोजना गरिने भएको छ । चैत ८ देखि १६ गते सम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो ।

मन्दिर व्यवस्थापन समितिले महायज्ञ सञ्चालनका लागि महिला नेतृ सरला दाहालको संयोजकत्वमा २७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । सामुदायिक भवन निर्माण र अक्षय कोष वृद्धि गर्ने उद्देश्यले नौ दिवसीय श्रीमददेवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको हो ।

आयोजक समितिले ८८ लाखको लागतमा सामुदायिक भवन बनाउने योजना अघि सारेको छ । सतसङ गर्ने हलसहितको सामुदायिक भवन निर्माणका लागि समाजसेवी कुमारमणि पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति समेत गठन भइसकेको छ ।

केहीवर्ष अघि स्थापना भएको अक्षय कोषमा हाल ६ लाख ५५ हजार रुपैयाँ छ । अनुष्ठानमा दाताहरूले दिएको दान भेटीबाट उक्त कोषलाई बढाएर १२ लाख बनाउने लक्ष्य राखिएको महायज्ञ आयोजक समिति संयोजक पोखरेलले जनाएकी छन ।

महायज्ञलाई व्यवस्थित बनाउन विभिन्न १५ वटा उपसमिति निर्माण गरिएको मूल आयोजक समितिका सचिव पत्रकार रामप्रसाद निरौलाले बताए । अनुष्ठानमा पण्डित नारायण सरण काफ्ले प्रमुख वाचक र उपवाचकमा पण्डित सुवास ढकाल रहने छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ००:००  ७ : १८ बजे