२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

बिर्तामोडमा लगाइएको पुराणको हिसाव सार्वजनिक



झापा– झापाको बिर्तामोड–४ मेघावारीमा लगाइएको पुराणको हिसाव सार्वजनिक गरिएको छ । पुराण आयोजक समितिले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयव्य सार्वजनिक गरेको हो ।

सिद्धिविनायक भजन कीर्तन मण्डलीले कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको सामुदायिक भवनका लागि जग्गा खरिद गर्ने उद्देश्यले फागुन २० देखि २७ गतेसम्म पुराण लगाएको थियो ।

पुराणमा एकहजार पाँच सय भक्तजनबाट बिलमार्फत ६९ लाख ५० लाख ७५७ रुपैँया जम्मा भएको आर्थिक समिति संयोजक तथा अनुष्ठान आयोजक समितिका कोषाध्यक्ष यामप्रसाद न्यौपानेले जानकारी दिए ।

चामल, चिनी र आँटा बिक्रीबाट २८ हजार ४ सय रुपैयाँ, दान पेटिकाबाट २ लाख ८० हजार ५९३ रुर्पयाँ, मन्दिरको भेटिबापत ७ हजार ३६२ रुपैयाँ आम्दानी भएको छ । चेक साट्न बाँकी २ लाख १४ हजार १३० रुपैयाँ र उठ्न बाँकी ११ लाख ८८ हजार ४६३ रुपैयाँ रहेको छ ।

अनुष्ठानमा विभिन्न शीर्षकमा २४ लाख ४१ हजार ८९३ रुपैयाँ र फागुन ९ देखि १२ गतेसम्म आयोजित मन्दिरको प्राण प्रतिष्ठामा ३ लाख २१ हजार ८२९ रुपैयाँ खर्च भएको आर्थिक समितिका सदस्य राम सिटौलाले जानकारी दिए ।

नबिल बैंकको बिर्तामोडस्थित समितिको खातामा ३६ लाख ३४ हजार २४६ रुपैयाँ मौज्दात छ । परोपकार वृद्धाश्रममा आश्रित चन्दबहादुर श्रेष्ठले मन्दिर निर्माण र जग्गा खरिदका लागि चार लाख रुपैयाँ उपलब्ध गराएको उनले बताए ।

व्यवसायी जयनारायण यादवले आफ्ना पितृहरुको स्मरणमा आधा धुर जग्गा खरिदबापत १ लाख ८१ हजार रुपैँया उपलब्ध गराएको आयोजक समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिइन् ।

सिद्धिविनायक भजन कीर्तन मण्डलीलाई जग्गादाता गुरुप्रसाद ओझाले निशुल्क उपलब्ध गराएको ११ धुर जग्गामा गणेश पाञ्चायन मन्दिर निर्माण भई सञ्चालन भइरहेको छ ।

समितिले कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि यसअघि ११ धुर जग्गा बैना गरिसकेको कीर्तन मण्डलीका अध्यक्ष गीतादेवी भण्डारीले जानकारी दिइन् ।

कार्यक्रममा अनुष्ठानलाई सुसम्पन्न गराउन अहोरात्र खट्ने स्वयम्सेवकलाई कदर पत्रसमेत वितरण गरिएको आयोजक समितिका सचिव पुष्प खड्काले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार ००:००  ८ : ०९ बजे