७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

केन्द्राध्यक्षको लागि अभिमुखीकरण सम्पन्न



झापा-बिर्तामोडमा आधारभूत तह परीक्षा कक्षा–८ को केन्द्राध्यक्षको लागि अभिमुखीकरण सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीको चैत ६ गते सोमबारदेखि परीक्षा सञ्चालन हुँदैछ ।

परीक्षाका लागि १० वटा विद्यालयलाई केन्द्र तोकिएको छ । तोकिएका केन्द्राध्यक्ष र केन्द्रमा शेरबहादुर श्रेष्ठ मोहनमाया मावि बिर्तामोड २, जीवन आचार्य बाल्मिकी एजुकेसन एकाडेमी बिर्तामोड १, यदुनाथ अधिकारी वीर अमरसिंह मावि बिर्तामोड २, केशव प्रसाई महेन्द्ररत्न मावि बिर्तामोड ३, विशाल क्षेत्री लिटल फ्लावर्स इङलिस् स्कुल बिर्तामोड ४, देवेन्द्र हुमागाई न्युटन्स एकाडेमी बिर्तामोड ५, अम्विका श्रेष्ठ देवी मावि बिर्तामोड ५, पेम्बा लामा कन्काई मावि बिर्तामोड ५, लक्ष्मण शिवाकोटी दुर्गा मावि बिर्तामोड ९ र उदय कटुवाल लालीगुराँस इङलिस वोर्डिङ स्कूल बिर्तामोड ८ रहेका छन् ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शान्त, व्यवस्थित र मर्यादित ढंगले परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्षलाई आग्रह गरे । उनले लाहछाप लगाइएका उत्तरपुस्तिका सीसी क्यामेराको निगरानीमा राख्नु पर्ने बताए ।

बिर्तामोड नगरपालिकाले पालिकास्तरमा यो परीक्षा पहिलोपटक सञ्चालन गर्न लागेको हो । यस परीक्षामा एक हजार २ सय ७४ छात्रा र १ हजार ३ सय ५२ छात्र गरी कुल २ हजार ६ सय २६ जना विद्यार्थी सहभागी हुने बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख उपससचिव तिलचन भण्डारीले जानकारी दिए ।

परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण गर्ने कार्य नगरपालिकामा केन्द्रिकृत गरी सञ्चालन हुनेछ । परीक्षालाई व्यवस्थित र मर्यादितरुपमा सञ्चालन गर्न दैनिक परीक्षा समिति र नगरपालिकाबाट अनुगमन गरिने शिक्षा शाखा अधिकृत दिनेशप्रसाद आचार्यले बताए ।

विद्यार्थी मूल्याङ्कन, परीक्षा व्यवस्थापन तथा नतिजा प्रकाशन अनिवार्यरुपमा लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधनसहितको प्रावधान अनुसार हुने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार ००:००  ८ : ३० बजे