बिर्तामोड- झापाको बिर्तामोडबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित बिर्तामोड–४ मेगावारीका सुवास ताजपुरिया र उनका भाई प्रवीण ताजपुरियालाई बुधवार साँझ पक्राउ गरेको हो ।
ताजपुरियाको घरमा छापा मार्दा नक्कली नोट फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । सुराकीको आधारमा प्रहरी घटनास्थलसम्म पुगेको हो । लागूऔषधको कारोवार हुनेको गरेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।
ताजपुरियाको घरमा एक हजार दरको कटिङ गरिएको ६० थान र कटिङ नगरिएको २८ थान नक्कली नोट फेला परेको छ । पाँच सय दरका दुई थान नोट पनि भेटिएका छन् । उनीहरुका साथमा तीनथान नक्कली अष्ट्रेलियन नोट पनि फेला परेको छ ।
ताजपुरिया दाजुभाईका साथमा चार ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउन सुगर पनि भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसपी रिजालले जानकारी दिए । प्रहरीले उनीहरुका साथबाट मे ५ प९७९७ नम्वरको मोटरसाइकल, सक्कली नोट तीनहजार र चारथान मोवाइल बरामद गरेको छ ।