८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

वीरता लेडी जेसीजले दियो न्युटन्सका विद्यार्थीलाई ट्राफिक सचेतना शिक्षा



बिर्तामोड-वीरता लेडी जेसीजले बुधवार झापाको बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकाडेमीमा अध्ययनरत विद्यार्थीका लागि लेडी जेसीजले सचेतना कार्यक्रम आयोजना गरेको हो ।

बढ्दो सवारी दुर्घटनाका कारण ज्यान जानेको संख्या बढ्दै गएकाले सरोकारवालाले सावधानी अपनाउनु पर्नेमा लेडी जेसीजले जोड दिएको छ ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी चालकले सवारी नियम पालना गर्ने हो भने दुर्घटनामा कमी आउने बताउँछिन् । अध्यक्ष गिरीले यात्रामा छिटो छरितो भए पनि ठीक ढंगले सवारी चलाउन नजान्दा दुर्घटनाको शिकार हुनु पर्ने बताइन् ।

विद्यार्थीलाई ट्राफिक सचेतना शिक्षा दिँदा घरघरमा अभिभावकसम्म पुग्न भन्ने हाम्रो लक्ष्य हो’, अध्यक्ष गिरीले भनिन्, ‘विद्यार्थीलाई पनि व्यवहारिक र नैतिक शिक्षाको खाँचो छ ।’

कार्यक्रममा अध्यक्ष गिरीले आफन्त गुमाउँदाको पीडालाई ध्यानमा राखेर घरमा अरु कसैले पर्खिरहेको छ भनेर सम्झिनु पर्ने बताइन् । ‘दुर्घटना कम गर्ने विषयमा हामी सबैको चासो र चिन्ता छ’, कार्यक्रममा अध्यक्ष गिरीले भनिन्, ‘अव सबैजना अझ बढी सचेत र जिम्मेवार हुने बेला आएको छ ।’

अध्यक्ष गिरीले दुर्घटना कम गर्ने विषयमा सामाजिक संघ संस्थाको अग्रसरता थप प्रभावकारी हुनु पर्नेमा जोड दिइन् ।कार्यक्रमका प्रमुख अतिथि न्युटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले ट्राफिक सचेतना शिक्षालाई विद्यालय तहमा अनिवार्य लागू गर्नु पर्ने बताए ।

‘हरेक विद्यालयमा ट्राफिक सचेतना शिक्षा दिइनु पर्छ’, प्रिन्सिपल हुमागाईँले भने । उनले नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा पनि ट्राफिक सचेतना सम्वन्धी सामग्री समावेश गरिएको जानकारी दिए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव निरीक्षक जीवन कार्कीले दुर्घटनाको वर्तमान अवस्थाका विषयमा प्रकाश पारेका छन् ।

दुर्घटनामा युवाको बढी ज्यान जाने गरेको तथ्यांक प्रस्तुत गर्दै प्रनानि कार्कीले सवारी चालकको लापरवाहीले मानवीय क्षतिका घटना बढिरहेको बताए ।

उनले सवारी अनुमति पत्र नलिई सवारी चलाउँदा भएको दुर्घटना र त्यसले परिवारमा पारेको प्रभावका विषयमा उदाहारणसहित विद्यार्थीलाई ट्राफिक सचेतना शिक्षा दिएका छन् ।

प्रनानि कर्कीका अनुसार नेपालमा १७ देखि ३५ वर्ष सम्मका युवा बढी दुर्घटनामा पर्ने गरेका छन्, जसको दुर्घटना ५४ प्रतिशत छ ‌। अपाङ्ग भएर जिउनु पर्दा जीन्दगी भर पछुताउनु पर्ने प्रनानि कार्कीले बताए ।

कार्यक्रम संयोजकको रुपमा उपाध्यक्ष प्रियंका उप्रेतीले स्वागत मन्तव्य राखेको कार्यक्रममा निवर्तमान अध्यक्ष संगीता चिमरियाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी छन् ।

कार्यक्रममा पूर्व अध्यक्ष पार्वता विमली खरेल, न्युटन्सका शिक्षक अभिभावक संघका अध्यक्ष नरेशमान भट्टराई शुभकामना मन्तव्य राखेका छन् ।

महासचिव निशा शाक्यले सञ्चालन गरेको कार्यक्रममा रोजिना पाण्डेले मिसन भिजन र कोषाध्यक्ष सुमित्रा भट्टराईले जेसीज आस्था वाचन गरेका छन् ।

झापामा यस्तो छ दुर्घटनाको ग्राफ
झापामा साउनयता फागुन मसान्तसम्म सवारी दुर्घटनामा परेर ८५ जनाको मृत्यु भएको छ । ५४० वटा सवारी दुर्घटनामा उनीहरुको ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले सबैभन्दा बढी असोजमा मानवीय क्षतिका घटना भएको देखाएको छ । असोजमा १६ जनाले ज्यान गुमाएका छन् । माघमा सबैभन्दा कम सात जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा पुरुषको संख्या अधिक छ । यो अवधिमा १७ जना महिलाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । सबैभन्दा बढी दुर्घटना फागुनमा भए पनि ज्यान गुमाउनेको संख्या औषतमा छ । फागुनमा भएका ८३ सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् ।

बालबालिकामा पनि जोखिममा
सवारी दुर्घटनामा बालबालिका पनि पर्ने गरेका छन् । अभिभावकसँगै यात्रारत बालबालिकाका झन् जोखिममा रहेको प्रहरी सहायक निरीक्षक यामकुमार खँडका बताउँछन् । उनका अनुसार असोज, मंसीर र पुसमा भएका सवारी दुर्घटनामा चार जना बालबालिकाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ००:००  १० : ३७ बजे