झापा-सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको मेची महाकाली बुहारी संयुक्त आवाजले इलामको दानावारी पुगेर रोगले थलिएका एकै परिवारका तीन जनाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्थाका परिवारलाई अभियानमार्फत सहयोग जुटाएर बुहारी समूहले प्रशंसनीय कार्य गरेको हो ।
मेची महाकाली बुहारी संयुक्त आवाजले बिरामीको सहयोगका लागि सय रुपैयाँ बचत अभियान सञ्चालन गरिरहेको छ । अभियानमार्फत संकलन भएको पहिलो सहयोग इलामको दानावारीका पीडित परिवारको उपचारका लागि गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाले बताएकी छन् ।
माई नगरपालिका–४ दानावारी मन्दिर डाँडाका ६८ वर्षीया कमलादेवी नेपाल, छोरा लोकनाथ नेपाल र बुहारी कमला नेपाल रोगले थलिएका छन् । कमलालाई अन्ननलीमा ट्युमर भएको छ भने उनका माइलो छोरा लोकनाथलाई ब्रेन ट्युमर भएको छ । बुहारी कमला डिप्रेसनको सिकार भएकी छिन् ।
जटिल रोगका कारण घरैमा थलिएका उनीहरु उपचार गर्ने खर्च नभएपछि रोग लुकाएर आँसु बगाउँदै बस्न वाध्य बनेका छन् नेपाल परिवारका सदस्य उपचार खर्चको अभावमा घरमै बस्न बाध्य बनेको समाचार पहिलोपटक स्पीक कर्नरमा प्रकाशित भएको थियो ।
मेची महकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुव्वाको परिकल्पनामा शुरु गरिएको महिनामा एक दिन एक सय रुपैयाँ बचत अभियान अन्तर्गत फागुन महिनामा जम्मा भएको रकममा केही रकम थप गरेर ३५ हजार रुपैयाँ मेची महकाली बुहारी संयुक्त आवाजले नेपाल परिवारलाई हस्तान्तरण गरेको हो ।
माइ नगरपालिका–४ दानावारी मन्दिरडाँडास्थित नेपाल निवास पुगेर मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले, मेची महकाली बुहारी संयुक्त आवाजकी झापा उपाध्यक्ष गंगा भट्टराई, सचिव कविता थापाले उक्त रकम विरामीका श्रीमान् तथा बुबा तारानाथ नेपाललाई हस्तान्तरण गरेका छन् ।
रकम ग्रहण गर्दै तारानाथले भने ‘उनीहरुलाई उपचार गराउन त परको कुरा अस्पतालसम्म लैजाने पनि खर्च छैन हामीसँग । त्यसैले ईश्वरसँग हारगुहार मागिरहेका छौँ । हाम्रो आवाज ईश्वरले सुनिदिनु भयो र तपाईहरुलाई पठाइदिनु भयो । तपाईहरु हाम्रा लागि भगवान हुनुहुन्छ ।’
डाक्टरले छोरालाई ब्रेन ट्युमर भएको र श्रीमतीलाई क्यान्सर भइसकेको बताएकाले उपचार गर्ने पैसा नभएपछि उनीहरुलाई घर फर्काएर ल्याएको तारानाथले बताए ।
उनले भने ‘डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनेका छन् । धेरै पैसा लाग्छ अरे, आफूसँग पैसा छैन्, कसरी उनीहरुको उपचार गर्नु ? मनकारी दाताहरुले सानीमा बैंक, माई शाखा इलाममा रहेको तारानाथ नेपालको खाता नम्बर ०५२०११०२००००५८८ मा सहयोग गरिदिनु भए हुन्थ्यो ।’
रकम हस्तान्तरण गर्दै मेची महकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले केन्द्रीय अध्यक्ष यमु शर्मा सुव्वाको परिकल्पनामा फागुन महिनाबाट ‘महिनामा एकदिन एक सय रुपैयाँ बचत अभियान’ अन्तर्गत जम्मा भएको रकममा केही रकम थप गरेर ३५ हजार रुपैयाँ नेपाल परिवारलाई हस्तान्तरण गरिएको बताइन् ।
माइ नगरपालिका–४ का वडाध्यक्ष हेम मगरले मेची महकाली बुहारी संयुक्त आवाजले नेपाल परिवारलाई सहयोग गरेर पुण्यको कार्य गरेको बताए । उनले आफ्नो तर्फबाट पनि नेपाल परिवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।