झापा-बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ का महिलालाई मकैको खोष्टाको फूल बनाउने तालिम दिएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत १२ दिने सीपमूलक तालिम दिइएको हो ।
तालिमपछि नगर प्रमुख पवित्रा महतारा प्रसाईले खेर गइरहेको स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउन सके आत्मनिर्भरताका लागि कसैको भर पर्नु नपर्ने बताइन् ।
नेपालमा भारत, चीन लगायतका मुलुकबाट आयात भएको प्लाष्टिकका फूलभन्दा स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएको सामग्री प्रयोगमा ल्याउन सके बाहिरिने पैसासमेत बचत हुने नगर प्रमुख प्रसाईको धारणा छ ।
नगर प्रमुख प्रसाईले समयलाई खेर नफाली उत्पादनमुखी कार्यमा लाग्न महिला दिदी बहिनीलाई आग्रह गरिन् ।
नगरपालिकाका शाखा अधिकृत मेघराज बास्तोलाले तालिममा सिकेको सीप अरुलाई पनि बिस्तार गर्नु पर्नेमा जोड दिए । प्रमाण पत्र लिएर मात्रै अर्थ नहुने भन्दै उनले व्यवसायिक बन्नु पर्ने धारणा व्यक्त गरे ।
सहभागीलाई निर्मला भण्डारी, सुमित्रा अधिकारी लगायतले प्रशिक्षण दिएका थिए । वडा नम्बर ७ की कार्यवाहक अध्यक्ष हेमलता विश्वकर्माको अध्यक्षतामा समापन भएको तालिममा सिद्देश्वर शिव पाञ्चायन मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विवेक मिश्र, वडा नम्बर ७ की न्यायिक समिति सदस्य माया ढकाल लगायतको उपस्थिति रहेको थियो ।
नगरपालिकाले ढाकाको कपडा बुन्ने, सिलाई कटाई, धुपकाँटी बनाउने, पोते उन्ने, अचार बनाउने, फूल बनाउने लगायत विभिन्न प्रकारका सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका संयोजक चनीमाया तामाङले बताइन् ।