बिर्तामोड-इनरवील क्लब अफ अर्जुनधाराका नवनिर्वाचित पदाधिकारीले शुक्रवारदेखि पदभार ग्रहण गरेका छन् । नयाँ नेतृत्वले आगामी दुई वर्षे कार्यकालका लागि आफ्नो पदीय जिम्मेवारी सम्हालेको हो ।
जनवरी १ मा इनरवील क्लब अफ अर्जुनधाराको सांगठनिक संरचना तयार भएको थियो । मानवीय सेवामा समर्पित हुँदै सामाजिक अभियानमा लाग्ने दृढतासहित संगठित भएका सदस्यलाई इनरवील क्लब अफ बिर्तामोड मिडटाउनले मातृत्व प्रदान गरेपछि यसको औपचारिक कार्य आरम्भ भएको सदस्य मेनुका ओलीले बताइन् ।
मातृसंस्थाका तर्फबाट कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै मिड टाउनकी अध्यक्ष सम्झना भण्डारीले नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारी र सदस्यलाई कार्यकाल सफलताको शुभकामना दिएकी छन् ।
डिष्ट्रिक चेयरमेन सीमा झाले प्रमुख अतिथिको आसनबाट कार्यक्रमको उद्घाटन गर्दै इनरवील क्लब अफ अर्जुनधाराकी अध्यक्ष सुनिता प्रसाईलाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।
प्रमुख अतिथि झाले नवनिर्वाचित नेतृत्वले आफ्नो कार्यकाल रचनात्मक र प्रभावकारी बनाउने विश्वास पनि व्यक्त गरिन् । नवनिर्वाचित अध्यक्ष खरेलको व्यक्तित्वमाथि सदस्य मुना पौडेलले प्रकाश पारेकी छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनको विशेष आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा प्रेस क्लबका संस्थापक अध्यक्ष कुमार भट्टराई, वीरता लेडी जेसीजकी अध्यक्ष सङगीता गिरी, क्लवकी उपाध्यक्ष पूर्णिमा सिटौला लगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।
इनरवील क्लब झापाकी सचिव टुना थापाले प्रार्थना गरेको कार्यक्रममा नवनीत एकाडेमीका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेका छन् ।