सुरुङगा- झापाको कनकाई नगरपालिका–३ स्थित गोहीखाडीमा रहेको जनचेतना आधारभूत विद्यालयमा दाताको सहयोगमा स्टेज निर्माण गरिएको छ ।
झापाको गौरादह–५ स्कुलचौन घर भई हाल अमेरिकामा बस्दै आएकी राधा बाँस्कोटाले आमा इन्दिरा शर्मा भट्टराई, ससुरा दिनानाथ र सासुआमा खिमादेवी बाँस्कोटाको स्मृतिमा विद्यालयको स्टेज निमार्ण गरिदिएकी हुन् ।
बाँस्कोटाकी आमा इन्दिरा ताप्लेजुङको फुङलिङ– ६ मा रहेको तमोर नदी आधारभूत विद्यालयकी शिक्षिक थिइन् । उनको २०७४ सालमा मृत्यु भएको थियो ।
समाजसेवी शेरबहादुर थापामार्फत बाँस्कोटाले स्टेज निर्माणमा सहयोग गरेकी हुन् । उनले समाजसेवी थापाको आग्रह र अनुरोधमा विद्यालयको भौतिक निर्माण सहयोग गरेको बताएकी छन् ।
स्टेजका लागि दाता परिवारबाट आवश्यक, रड, सिमेन्ट, जस्तापाता, फलाम, मिस्त्री ज्याला तथा रङरोगन गरी १ लाख ८१ हजार २ सय ५४ रुपैयाँ खर्च भएको जनाइएको छ ।
शुक्रबार विद्यालयको रजत महोत्सव तथा २६ औँ बार्षिकोत्सव समारोहमा कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पाखरेलले स्टेज निमार्ण संयोजक थापामार्फत दाता परिवारलाई सम्मान गरेका छन् ।
कनकाई नगरले पनि विद्यालयको भौतिक निर्माणमा ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।