सतासीधाम- झापाको शिवसताक्षी नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना भएको छ । वडा नम्वर ७ को झारबारीमा अत्याधुनिक प्रविधिको फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको हो ।
नगरपालिकाले २०७८ चैत्र १८ गते प्रशोधन केन्द्रको सिलान्यास गरेको थियो । अहिले त्यहाँ राखिएका मेसिनमा प्रशोधन परीक्षण भइरहेको नगरपालिका कार्यालयले जनाएको छ ।
झापामा पहिलोपटक फोहोर प्रशोधन केन्द्र स्थापना गरी उत्पादित फोहोरको व्यवस्थापन अगाडि बढाइएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा बताए । फोहोर प्रशोधन केन्द्रका लागि नगरपालिकाले दुई विघा १८ कठ्ठा जग्गा खरिद गरी घेराबारा गरेको छ ।
अब फोहोर छुट्याउने चेम्बर टहरा, गाडी पार्किङ, कार्यालय भवन निर्माण गर्न बाँकी रहेको नगर प्रमुख थोप्राले बताए । हालसम्म करिब तीन करोड रुपैयाँ खर्च भएको छ ।
प्रशोधन मेसिनको लागि मात्रै नगरपालिकाले एक करोड रुपैयाँ खर्चिएको हो । नगर प्रमुख थोप्राका अनुसार फोहोर व्यवस्थापन क्षेत्रभित्र फुलबारी, बगैंचा लगाएर आकर्षक बनाउने योजना रहेको छ ।
शिवसताक्षी नगरपालिकाले फोहोर व्यवस्थापनका सम्पूर्ण संरचना निर्माण गर्न १२ करोड लाग्ने जनाएको छ । फोहोर प्रशोधन मेसिनले एक घण्टामा तीन सय किलो फोहोर नष्ट गर्ने जनाइएको छ ।
फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएपछि नगरको फोहोरजन्य सामाग्रीको व्यवस्थापन सहज हुने भएको छ । नगरप्रमुख थोप्राले नगरका बजारमा संकलन गरिएको फोहारलाई प्रशोधन केन्द्रसम्म ल्याएर व्यवस्थापनका लागि न्युनतम् शुल्क निर्धारण गरिएको बताए ।