८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बिर्तामोडमा १५ बेड क्षमताको नगर अस्पताल सञ्चालनमा



झापा-बिर्तामोड नगरपालिकाले १५ बेड क्षमताको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । विशेषज्ञ चिकित्सकसहितको अस्पतालले यसैसाता सेवा प्रारम्भ गरेको हो ।

अस्पतालमा एक एमडीजीपी, तीन एमबीबीएस डाक्टर, पारामेडिक्ससहित ३६ कर्मचारी कार्यरत छन् । अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिने बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिइन् ।

‘स्वास्थ्य बीमासहितका कार्यक्रम नगर अस्पतालमा लागू गरिएको छ’, नगर प्रमुख प्रसाईले भनिन्, ‘हामी २४ सै घण्टा उपचार सेवा सुरु गर्ने तयारीमा छौँ ।’ कोभिड जाँचलगायतका स्वास्थ्य जाँच तथा उपचार सेवा दिने गरी अस्पतालमा जनशक्ति एवम् उपकरण व्यवस्थापन गरेको उनले बताइन् ।

बिर्तामोड–३ स्थित नगरपालिकाका जग्गामा अस्पतालका लागि दुई तला पक्की भवन बनाइएको हो । नगर गौरव योजनाअन्तर्गत करिब साढे पाँच करोड रुपैयाँको लागतमा उक्त अस्पताल निर्माण भएको हो ।

मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुनील अधिकारीले अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने जानकारी दिए । नगर अस्पतालबाट तत्कालै डायलसिस सेवा दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार ००:००  ८ : ०७ बजे