७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

पूर्वी नेपालका ४० हजार चिया मजदूर आन्दोलनको तयारीमा



झापा-श्रम ऐनले तोके अनुसार ज्याला नपाएको भन्दै पूर्वी नेपालका चिया मजदूरले आन्दोलनको तयारी गरेका छन् । हरियो पत्ती उत्पादनको मुख्य सिजनमा चिया श्रमिकको आन्दोलन शुरु हुन लागेको हो ।

श्रमिकको न्यूनतम् ज्यालाका विषयमा सहमति जुट्न नसकेपछि पूर्वी नेपालको चिया उद्योगले फेरि आन्दोलनको सामना गर्नुपर्ने भएको छ ।

उद्यमी र श्रमिक बीचको ज्याला विवादले सधैँ समस्यामा पर्दै आएको चिया उद्योगले हरियो पत्ती उत्पादनको मुख्य सिजनमा फेरि एकपटक आन्दोलनको सामना गर्नुपर्ने देखिएको हो ।

ऐनले दिएको अधिकार प्रयोग गरी न्युनतम् ज्यालाका लागि आन्दोलन गर्ने तयारी भएको अखिल नेपाल ट्रेड युनियन महासंघ कोसी प्रदेश इञ्चार्ज भुपाल सापकोटाले बताए । ‘अहिलेसम्म भएको छलफल निष्कर्षमा पुग्न सकिरहेको छैन्’, सापकोटाले भने ।

श्रम ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी गत असारमा चिया श्रमिकका तर्फबाट विभिन्न श्रमिक संगठनले ज्याला वृद्धिको माग गर्दै उद्योगी व्यवसायीलाई चारबुँदे मागपत्र बुझाएका थिए । लामोसमय आफ्ना माग सम्वोधन गर्न उद्योगी सहमत नभएपछि चिया श्रमिकले आन्दोलनको तयारी गरेका हुन् ।

देशव्यापी बढ्दो आर्थिक संकटका कारण उद्योग व्यवसाय धरासायी भइरहेको विद्यमान परिस्थितिमा तत्काल कुनै कदम नचाल्न आग्रह गरिएको भए पनि श्रमिकले त्यसलाई नसुनेको चिया उद्यमीको गुनासो छ ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवाल कतिपय सवाल राज्यले सम्वोधन नगरेसम्म चिया क्षेत्रमा देखिएको समस्या समाधान नहुने बताउँछन् । उनले श्रमिकको मागका विषयमा छलफल हुने बताए ।

अघिल्लोपटक पनि आन्दोलनको बलमा चिया मजदुरको ज्याला वृद्धि भएको थियो । बगानको कामकाज छोडेर चिया मजदुर सडकमा लम्पसार परेपछि चिया उद्योगी ज्याला बढाउन तयार भएका थिए ।

प्रत्यक्ष रुपमा रोजगारी पाएका ४० हजार भन्दाबढी चिया श्रमिक यसपटक पनि आन्दोलनको बलमा ज्याला बढाउन सकिने मनस्थितिमा छन् ।

श्रम ऐनले तोकेको व्यवस्थाअनुसार २०७९ साउनदेखि चिया मजदुरको ज्याला वृद्धि हुनुपर्ने थियो । तर, अहिले पुरानै ज्यालामा मजदुरले काम गर्दै आएका छन् ।

चिया बगान र प्रशोधन कारखानामा काम गर्ने श्रमिकले दैनिक ४३५ रुपैयाँ ज्याला पाउँछन् । तर, अचाक्ली बढेको महंगीका कारण श्रमिकलाई दैनिक हातमुख जोर्न समस्या हुदै आएको श्रमिक नेता सापकोटा बताउँछन् ।

‘बिहान बेलुकाको छाक टार्ने र विरामी पर्दा सामान्य औषधिमूलो गर्न सक्ने अवस्था पनि चिया श्रमिकसँग छैन्’, नेता सापकोटाले भने ।

न्यूनतम् ज्यालाका विषयमा मजदूर र मालिक बीचको अन्त्यहीन श्रृङ्खलाको चपेटामा परेको चिया उद्योगले बर्सेनि चार अर्व रुपैयाँको हाराहारीमा विदेशी मुद्रा आर्जन गर्दै आएको छ । मुख्य सिजनमा श्रमिकको आन्दोलन सुरु भए यसले निर्यात व्यापारमा समेत असर पार्ने देखिन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार ००:००  ९ : ०९ बजे