७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

झापा भित्रिएको मिसावटयुक्त डिजेलको नमुना परीक्षण गरिँदै



झापा- नेपाल आयल निगम झापा, चारआलीस्थित शाखा कार्यालयमा आएको मिसावटयुक्त डिजेलको नमुना परीक्षण थालिएको छ  ।

गत १० फागुनमा इन्डियन आयल कर्पोरेसन आइओसी पश्चिम बंगालस्थित सिलगुडी डिपोबाट आएका चारवटा ट्यांकरमा कम घनत्व भएको ८० हजार लिटर डिजेल फेला परेको थियो ।

प्रारम्भिक अध्ययनमा मट्टीतेल मिसावट भएको आशंका गरिए पनि कुन वस्तुको मिसावट भएको भन्नेबारे यकिन गर्न काठमाडौँस्थित निगमको प्रयोगशालामा नमुना परीक्षण थालिएको प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

आइओसीको सिलगुडी डिपोबाट २०–२० हजार लिटर डिजेल लिएर आएका नवदुर्गा आयल स्टोर्सको नाममा रहेको मे.१ख २१४९, माता पाथीभरा आयल स्टोर्सको नाममा रहेको मे.१ख २१५१, उत्तर गंगा यातायात प्रालिको नाममा रहेको ना.७ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सका नाममा रहेको ना.७ख ६९७४ नम्बरको ट्यांकरमा मिसावट भेटिएको थियो ।

मिसावटबारे अध्ययन गर्न निगमले केन्द्रीय कार्यालयमा कार्यरत प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा गठित छानबिन समिति गठन गरिएको थियो ।

समितिमा निगमको १ नम्बर प्र्रादेशिक कार्यालय, विराटनगरमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य रहेका छन् । उनीहरूले १३ फागुनमा शाखा कार्यालय, चारआली पुगेर स्थलगत अध्ययन टुंग्याएका छन् ।

सोही अध्ययन टोलीले चारवटै ट्यांकरमा रहेको मिसावटयुक्त डिजेलको नमुना काठमाडौं ल्याएको र हाल परीक्षण भइरहेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

मिसावटयुक्त डिजेलबारे आयल निगम र प्रहरीले छुट्टाछुट्टै अनुसन्धान थालेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले आयल निगमको समन्वयमा अनुसन्धान थालिएको जानकारी दिए ।

‘अनुसन्धानका लागि आवश्यक कागजात हामीले माग गरेका छौँ, तर निगमबाट प्राप्त भइसकेको छैन,’ उनले भने, ‘कागजातहरू प्राप्त भएपछि विस्तृतमा अध्ययन थाल्छौँ ।’

यसैबीच गत ११ माघमा एउटा ट्यांकरबाट हराएको १६ हजार लिटर डिजेल आयल निगमले बरामत गरेको छ । प्रहरी अनुसन्धानबाट सप्तरीको भण्डार आयल स्टोर र विक्की ट्रेडर्सले सो डिजेल खरिद गरेको पाएपछि निगमले चोरी भएको डिजेल प्रहरीको रोहबरमा दुवै पम्पबाट झिकेको हो ।

निगम प्रवक्ता उपाध्यायका अनुसार दुवै पम्पबाट १५ हजार आठ सय ५० लिटर डिजेल झिकिएको हो । ‘डिजेल चोरी गर्ने दुवै पम्पको अन्डरग्राउन्डबाट तेल झिकेर विराटनगरस्थित निगमको डिपोमा खन्याइसकिएको छ,’ उनले भने ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार ००:००  १ : ५७ बजे