७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

मोती पत्रकारिता पुरस्कार अक्षय कोषमा पूर्व अध्यक्ष केशव आचार्यले दिए एक लाख



बिर्तामोड- नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षय कोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

मंगलबार आचार्यले उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका हुन् । २०५३ सालमा आचार्य महासंघको अध्यक्ष हुँदा स्थापित पुरस्कारको अक्षय कोषमा एकलाख रुपैयाँ मात्र थियो ।

अक्षय कोषको व्याजले पु्स्कारको राशि नधान्ने भएपछि महासंघको वर्तमान कार्यसमितिले अक्षय कोषको रकम पाँच लाख बनाउने निर्णयसहितको प्रस्ताव गत साधारणसभामा पारित गरेको थियो ।

दाता र महासंघको आन्तरिक श्रोतबाट यसैवर्ष अक्षय कोषको रकम पाँच लाख बनाइने अध्यक्ष गिरीले बताए ।झापाका अग्रज पत्रकार ७० वर्षीय आचार्यले पुरस्कारको दिगोपनका लागि आफूले सहयोग गरेको बताए ।

जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादक आचार्यले नेपालको पहिलो पत्रकार मोतीराम भट्टको स्मृतिमा स्थापित पुरस्कारले नेपाली पत्रकारिताको श्रीवृद्धिमा योगदान गर्दै आएको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार ००:००  ७ : ४५ बजे