१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कोभिड अस्पताललाई संक्रामक रोग उपचार केन्द्रको रुपमा विकास गर्ने योजना अलपत्र




विराटनगर-कोशी कोभिड–१९ उपचार केन्द्रलाई प्रदेश सरकारले संक्रामक रोग तथा सघन उपचार केन्द्रको रुपमा विकास गर्ने योजना अलपत्र परेको छ ।

विराटनगर–१० नेशनल ट्रेडिङको जग्गामा प्रदेश सरकारले निर्माण गरेको कोभिड अस्पताललाई कोरोना संक्रमणको जोखिम घटेसँगै संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गरिएको थियो ।

नयाँ स्वरुपमा सञ्चालनमा ल्याउने भनिएको अस्पतालमा सामान्य उपचारबाहेक अरु सेवा सञ्चालनमा छैनन् । कोरोना महामारीको बेला निजी अस्पतालले विरामी लिन नमानेको अवस्थामा प्रदेश सरकारले करिब एक करोड रुपैयाँ खर्चेर कोभिड अस्पताल निर्माण गरेको थियो ।

अस्पतालमा २० भेन्टिलेटरसहित २४ शैय्याको आइसियु र ५२ वटा एच्डीयु शैय्या रहेको छ । संक्रामक रोग तथा सघन उपचार केन्द्र पूर्ण रुपमा सञ्चालन नहुँदा त्यहाँ रहेका सामानहरू बिग्रने स्थितिमा छन् ।

अस्पतालमा ५९ जनाको अस्थायी दरबन्दी छ । जसमा मेडिकल अधिकृत र स्टाफ नर्सको दरबन्दी रहेको छ । अहिले अस्पतालमा ४ जना मेडिकल अधिकृत र १२ जना नर्सले सामान्य स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले संक्रमण अस्पतालको रूपमा रूपान्तरण गर्ने निर्णय कार्यान्वयन गर्न विज्ञहरूको समिति गठन भएको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार ००:००  ८ : ५४ बजे