बिर्तामोडमा आयोजित बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेलामा विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति जारी छ । आइतबार साँझ ‘पप’ गायक सविन राईले प्रस्तुति दिएका छन् ।
कलाकारको प्रस्तुति महोत्सव सञ्चालन अवधिभर रहनेछ । फागुन ५ गतेबाट शुरु भएको महोत्सव १५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा आफ्नो प्रस्तुति गरिसकेका पप गायक राईसँग रेजिना गौतम र विनोद पाण्डेले गरेको कुराकानीको सम्पादित अंश
कस्तो लाग्यो बिर्तामोड महोत्सव ?
राम्रो लाग्यो । सबै ठाउँको आ–आफ्नै विशेषता हुन्छ । तर, यहाँ धेरै राम्रो लाग्यो ।
तपाईको अपेक्षा अनुसार दर्शक पाउनु भयो ?
मान्छेहरु ठीकैको हुन्छ होला जस्तो लागेको थियो । तर, सोचेको भन्दा फरक थियो । राम्रो क्राउड उपस्थिति नर्मल हुन्छ होला भन्ने लागेको थियो । तर, अवेवियर ।
महोत्सवमा सुधार गर्नुपर्ने पक्ष के छ ? आयोजकलाई तपाईको कुनै सुझाव छ ?
सफल हो भव्य सफल । नर्मल्ली यस्तै हो । ब्लण्डर केही देखिन । स–सानो कमजोरीहरु त हुन्छ नै । तर, सुझाव नै दिनुपर्ने खास केही पनि देखिन । राम्रो थियो । आर्टिष्टहरुलाई राम्रो गरी ल्यायो ।
महोत्सवस्थलमा पसेपछि हामी आर्टिसहरुलाई सानो बस्ने ठाउँ होस भन्ने लाग्छ, त्यो सबै थियो । लाइट, साउण्डहरु पनि राम्रो थियो । ठाउँ अनुसार हुन्छ । नेपालमा त्यो भन्दा बढी के अपेक्षा गर्नु ? त्यत्तिको राम्रो थियो ।
सविन राई को हो ?
गीत संगीत मन पराउने एउटा मान्छे ।
गीत गाउन कहिलेदेखि शुरु गर्नुभयो ?
प्रोफेसनल रुपमा २००२ देखि हो ।
अहिलेसम्म कतिवटा गीत स्रोतामाझ आइसकेको छ ?
त्यस्तो भव्य र धेरै गीतहरु आएको छैन् । कम्ती गरेको छु । तर, राम्रो गरेको छु । म आफैँ किताब लेख्छु, गीत लेख्छु, आफैँ बनाउँछु र त्यस्तो गीत मात्रै बाहिर निकाल्छु जसले म आफैँलाई पनि चित्त बुझोस् । म एकदम कम्ती काम गर्छु, जति गर्छु त्यो राम्रो होस् ।
तपाईका टप थ्री गीतहरुको नाम लिनुपर्दा ?
धेरै गरेको छैन । आफूले गरेका सबै राम्रा नै लाग्छन् । तर, स्रोताले मन पराएकामध्ये ‘तिमी नै हौ’, ‘जाउँकी बसौं’, ‘संसार जित्ने’ त्यस्तै त्यस्तै हो ।
सविन राई कुन किसिमको गायक हो ?
मान्छेले छुट्याइहाल्छ । तर मैले सक्ने भनेको अलि भाष्य गीत नै हो । मलाई पहिलेदेखि नै मन पर्ने मोर्डनसँग नै हो ।
आफैँलाई एकै शब्दमा भन्नुपर्दा के गायक भन्न रुचाउनुहुन्छ ?
‘पप’
गीत संगीतमा भविष्य ?
राम्रो छ । प्रस्तुति राम्रो गर्न सक्यो भने अहिले धेरै राम्रो भएर गएको छ । नेपाली म्युजिक फिल्ड एकदम राम्रो भइरहेको छ । म्युजिक फिल्डमै लागेर आफू सर्भाइभ गर्न सकिन्छ । आफ्नो परिवार पाल्न सकिन्छ । हदै बाहिर देशको जस्तो नहोला । तर एटलिस्ट आफ्नो मिनिमम डिमाण्ड चलाउन सक्छ । तर, गायक भन्दैमा सबैले गर्न सक्दैन । राम्रो गर्न सक्नु पर्यो । माथि गएपछि छानिदै छानिदै जान्छ । छानिदै गएपछि डिमाण्ड पनि बढ्न थाल्छ । पेमेन्ट पनि बढ्दै जान्छ । त्यो हिसाबले गीत संगीततर्फको भविष्य म त उज्ज्वल नै देख्छु ।
गायकको आम्दानीको स्रोत के हो ? ट्रयाक, स्टेज सो वा अरु केही ?
मुख्य त स्टेज सो नै हो । त्यसका अलावा युट्युव पनि ।
तपाई कत्तिको महंगो गायक हो ?
मलाई आफ्नो पारिश्रमिक लिनै मन लाग्छ । अहिलेसम्म संघर्ष गरियो । पेन्सन पाक्ने बेला भयो । यो अवधिसम्म यसैमा संघर्ष गरियो । अब मसँग अर्को विकल्प पनि छैन । मेरो परिश्रम अनुसारको चार्ज डिमाण्ड त गर्छु नै गर्छु । त्यसलाई कसैले महंगो भन्छ भने पनि केही भन्नु छैन् ।
विदेश यात्रा कत्तिको गर्नुभयो ?
गीत संगीतको यात्रासँगै विदेश भ्रमण प्राय गरेको छु । जहाँ नेपालीको बसोबास बढी छ–त्यहाँ पुगेको छु, घुमेको छु ।
गायकको चार्ज आफूखुशी तोकिन्छ कि ? यसको कुनै मापदण्ड छ ?
प्रायः ब्याण्डहरुले निर्धारण गर्छ । ब्याण्डले निर्धारण गरेकोमा आयोजकले पनि थेग्न सक्ने आँट आयो भने बोलाउँछ, नभए गर्दैन । गायकमार्फत आयोजकले पनि केही त अपेक्षा गरेको हुन्छ, उनीहरुले पनि केही न केही त कमाउन पर्यो । आर्टिष्टहरुले पनि गर्न सक्छ ।
ट्रयाकमा गाउनु र ब्याण्ड सेटमा गाउनुमा के फरक छ ? स्थापित गायकले ट्रयाकमा गाउनु राम्रो कि नराम्रो ?
गीत संगीतको इतिहास हेर्ने हो भने ट्रयाकबाटै आएको हो यसलाई नराम्रो भन्न मिल्दैन । तर, नाम चलेका गायकले ट्रयाकमा नगाएको राम्रो । यसो भन्दैमा सबैको ब्याण्ड नहुन सक्छ । त्यस्तो अवस्थामा बाध्यता पनि हुन्छ । त्यसमा अरु पनि कुराहरु जोडिन्छन् । तर मलाई नै समूहगत रुपमै काम गरौँ भन्ने लाग्छ । कुनै बेला मेरो पनि ब्याण्ड थिएन् । ट्रयाकमा गाउनुपर्ने अवस्था पनि थियो ।
अन्त्यमा ?
महोत्सवको भब्य सफलताको कामना गर्छु । मलाई दर्शक÷स्रोताले जुन माया दिनु भएको छ । अझ धेरै माया गर्न र गीत संगीत मन पराइदिन अनुरोध गर्छु ।