७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बिर्तामोड महोत्सवमा अलग अलग जातिको सांस्कृतिक प्रस्तुति



झापा-झापाको बिर्तामोडमा सञ्चालित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा विभिन्न जातिय सांस्कृतिक झलकले विशेष महत्व पाएको छ ।

व्यवसायिक स्टलका अलावा जातीय संस्कृति झल्कने स्टलहरु समेत महोत्सवमा राखिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ सँगको समन्वयमा महोत्सवमा स्टल राखिएका हुन् ।

महोत्सव स्थलमा थारु, राजवंशी, दनुवार, नेवार लगायतका संस्कृति झल्कने प्रतिकात्मक स्वरुपमा स्टल राखिएको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।

फागुन ५ गतेदेखि सञ्चालनमा आएको महोत्सवमा मंगलवार नेवार समुदायले जातिय पहिचान झल्कने सांस्कृतिक प्रस्तुति देखाएको छ । नेवार समुदायको लाखे नाच, धिमे वाजासहितको प्रस्तुति राखिएको हो ।

यसअघि सोमवार राजवंशी समुदायका अगुवा नेता र कलाकारको उपस्थितिमा कार्यक्रम भएको थियो । प्रत्येक दिन फरक–फरक जातिका अगुवा नेता तथा कलाकर्मीको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुँदै आएको महोत्सव आयोजक समितिका सचिव कुशल खतिवडाले बताए ।

महोत्सवस्थलमा विभिन्न कृषि उपजका स्टल समेत समावेश छन् । प्रदेश सरकार कृषि मन्त्रालयको सहयोगमा फलफूल र कृषि उपजका पाँच पाँच वटा स्टल राखिएको मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिनाले बताए ।

सचिव तिमिल्सिनाको नेतृत्वमा आएको मन्त्रालयको टोलीले मंगलवार महोत्सवस्थल अवलोकन गरेको छ । फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक साँझ कलाकारको प्रस्तुति रहँदै आएको छ ।

आयोजक समितिका संयोजक राजु न्यौपानेले महोत्सवमा राखिएका खेल सामग्रीले रौनक थपेको बताए । मेलामा नेपालकै अग्लो रोटेपिङ राखिएको छ । त्यसवाहेक महोत्सवस्थलमा आकर्षक प्रवेशद्वार, बृज खलिफा, धरहरामा सेल्फी खिच्नेको भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार ००:००  ९ : १८ बजे