७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

झापाली समाज अमेरिकाको सहयोगमा झापाका ६६ जना विद्यार्थीलाई छात्रवृत्ति



बिर्तामोड-झापा जिल्ला सहकारी संघले जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बिर्तामोडमा बिहीवार आयोजित सहकारी अभिमुखीकरण सप्ताह समापन कार्यक्रममा संघले विद्यार्थीलाई छात्रवृत्ति बाँडेको हो ।

झापाली समाज अमेरिकाको सहयोगमा झापा जिल्ला सहकारी संघले केहीवर्षदेखि झापाका सरकारी विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

संघका अध्यक्ष गणेश ढकालले सहकारी अभियान र झापाली समाज अमेरिकाको संयुक्त प्रयासमा छात्रवृत्ति वितरण गरिएको बताए । झापा विकास मञ्च समेतको सहभागितामा छात्रवृत्ति बाँडिएको हो ।

प्रदेश १ सरकारका कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरी संघले दोस्रो किस्ता वापतको छात्रवृत्ति रकम बाँडेको हो ।

विभिन्न सहकारी संस्थाको सिफारिसमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले जनही २१ हजार रुपैयाँका दरले छात्रवृत्ति पाउँछन् ।

सहकारी अभियानका तर्फबाट १६ जना र झापाली समाज अमेरिकाको तर्फबाट ५० जनाले छात्रवृत्ति पाएका छन् । कक्षा १२ सम्म पढ्न उनीहरुले छात्रवृत्ति पाउँछन् ।

कार्यक्रममा बोल्दै झापाली समाज अमेरिकाका अध्यक्ष मुकुन्द ढुंगानाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्न पैसाको अभाव हुन नदिने बताए । समाजका हरेक सदस्यको योगदानका आधारमा आफ्नो ठाउँमा यसप्रकारका कार्यक्रम सञ्चालन गर्ने ढुंगानाले बताए ।

‘स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा योगदान गर्ने गरी समाजका हरेक सदस्यले बर्सेनि एकसय डलर योगदान गर्दै आएका छन्’, कार्यक्रममा ढुंगानाले भने, ‘राम्रो काम गर्ने सवालमा पैसा जुटाउन समस्या छैन् ।’ उनले छात्रवृत्ति कार्यक्रमलाई व्यवस्थित बनाउन संघलाई आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार ००:००  ६ : २३ बजे