झापा-बिर्तामोड नगरपालिकाले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तथा कर्जा व्यवस्थापन अन्तर्गतको दोस्रो तालिम बुधबारदेखि सुरु गरेको छ ।
तालिमको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेका छन् । सहभागीलाई कोपोमिस तथा ऋण व्यवस्थापन सम्बन्धि तालिम दिइने सामाजिक विकास शाखाका प्रमुख डिल्ली दाहालले बताए ।
कार्यपालिका सदस्य तथा सामाजिक विकास शाखाकी संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला सुनार, बिराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्ध निर्देशक रुद्र सिटौला लगायतको आतिथ्य रहेको थियो ।
नेफ्स्कूनका केन्द्रीय सदस्य घनश्याम अधिकारीले तालिममा सहजीकरण गरिरहेका छन् । तालिममा विभिन्न सहकारीबाट ३० जनाले सहभागिता जनाएका छन् । नगरपालिकाले यसअघि माघ १४ गतेदेखि पनि सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तालिम सञ्चालन गरेको थियो ।