७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एलिसाको रहस्यमय मृत्यु, अनुसन्धानको घेरामा परिन् लक्ष्मी



विराटनगर-सुनसरीको धरान–१५ की एलिसा खँड्काको मृत्युका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । विराटनगरमा बस्दै आएकी १९ वर्षीय खँड्काको माघ १८ गते राति मृत्यु भएको थियो । कोसी अस्पताल लगिए लगत्तै चिकित्सकले खँड्कालाई मृत घोषित गरेका थिए ।

घटनापछि प्रहरीले खँड्काकी साथी विराटनगर–१२ की २७ वर्षीया लक्ष्मी राजवंशीलाई पक्राउ गरेको छ । खँड्कालाई लिएर राजवंशी अस्पताल पुगेकी थिइन् । खँड्काको घाँटीमा निलो डाम भएको कारणले उनको मृत्यु रहस्यमय रहेको प्रहरीले आशङ्कामा गरेको हो ।

खँड्का र राजवंशी लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । खँडुका बेहोस भएपछि आफूले अस्पताल लगेको राजवंशीले बताउँदै आएकी छन् । मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले ‘राजवंशीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।

‘पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारण भन्न सकिएन’ डीएसपी कार्कीले भने । पक्राउ परेकी राजवंशीलाई मोरङ प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम रिपोर्ट र अनुसन्धानले हत्या भएको देखिए कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने प्रहरीको तयारी छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार ००:००  ३ : २७ बजे