बिर्तामोड- झापाका चिया उद्यमी र किसानले चिया क्षेत्रलाई मल उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । मल अभावमा चिया खेती संकटमा परेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अन्य कृषि फसलजस्तै चिया क्षेत्रलाई पनि रासायनिक मल आवश्यक परेको किसान बताउँछन् । शनिबार विर्तामोडमा संवाद समूह झापाको संयोजनमा भएको छलफलमा चिया किसान, उद्योगी र सरोकारवालाले चिया क्षेत्रलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन तीनै तहको सरकारको गम्भीर हुनुपर्ने बताए ।
अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका–२०७७ बमोजिम हरेक स्थानीय तहले आफ्नो पालिकाभित्र चिया क्षेत्रलाई आवश्यक पर्ने मलको परिमाण समेत समावेश गरी प्रदेश र केन्द्र सरकार सिफारिस गर्नु पर्ने उनीहरुको माग छ ।
झापामा १० हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती गरिन्छ । चिया खेतीका लागि वार्षिक १५ सय मेट्रिक टन रासायनिक मल आवश्यक हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिए ।
चिया क्षेत्रले २०७६ सालसम्म रासायनिक मल पाइरहेको अवस्था थियो । २०७७ देखि सरकारले चिया क्षेत्रलाई रासायनिक मल उपलब्ध गराउन छोडेको नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले बताए । मल नपाउँदा चिया खेती जोगाउनै गाह्रो भएको गुप्ताले सुनाए ।
- झापामा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी
- नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल
- प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै
- दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ
- झापाको दुर्गापुरमा महापुराणको तयारी
चिया उत्पादक संघका सहसचिव विनय कुमार गोयलले मलका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएकोमा दुख व्यक्त गरे ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्ट, साल्ट टे«डिङ कम्पनी बिर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराई, कृषि सामग्री कम्पनी बिर्तामोडका निमित्त प्रमुख नारायण टुडु, चिया प्राविधिक अनन्त ढुंगाना, साना किसान चिया उत्पादक सहकारी संस्थाका ओमनाथ प्रसाई, कृष्णप्रसाद पोखरेल, सुदीप श्रेष्ठ, चिया किसान यामकान्त निरौलालगायतको सहभागिता थियो ।