१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

विद्यार्थीबाट शुल्क असुल नगर्न प्रदेश सांसदको निर्देशन



बिर्तामोड-प्रदेशसभा सदस्य एकराज कार्कीले अंग्रेजी पढाउने नाममा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीबाट शुल्क असुल नगर्न निर्देशन दिएका छन् ।

झापाको बिर्तामोडस्थित बीर अमरसिंह माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै प्रदेश सांसद कार्कीले यस्तो निर्देशन दिएका हुन् ।

‘एकातिर १२ कक्षासम्म निशुल्क पढाउने स्थानीय सरकारको घोषणा छ । अर्कातिर सरकारी विद्यालयले अंग्रेजी पठाउने नाममा विद्यार्थीबाट पैसा लिइरहेका छन्’, कार्यक्रममा अध्यक्ष कार्कीले भने, ‘यो मिल्ने विषय होइन । जसले विद्यार्थीबाट शुल्क लिनु भएको छ, अब हटाइनु पर्छ ।’

सांसद कार्कीले सरकारी विद्यालयमा सञ्चालित यातायात सुविधा ‘सेतो हात्ती’ सरह हुने टिप्पणी गरे । ‘इन्धन व्यवस्थापन, चालकको तलव भत्ता, नियमित मर्मत र लाग्ने कर लगायतका कारण सरकारी विद्यालयको बस सुविधा सेतो हात्तीसरह हुन्छ’, सांसद कार्कीले भने, ‘आवश्यक स्रोत व्यवस्थापन नभई यस्ता विषयमा हात हाल्नु हुँदैन । खर्च धान्न सकिँदैन ।’

प्रदेश सांसद कार्कीले सरकारी विद्यालयले जग्गा व्यवस्थापन र संरक्षणमा चासो दिनुपर्ने बताए । धेरै विद्यालयको जग्गा संरक्षण गर्नु पर्ने देखिएको जनाउँदै कार्कीले नयाँ सम्झौता अनुसार विद्यालयको जग्गा ठेक्कामा लगाइनु पर्ने बताए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ००:००  ९ : १२ बजे