७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

‘प्रदेशको नाम राख्न सहमति खोज्छु, नभए कानुन अनुसार नाम राखिन्छ’




बिर्तामोड–प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अधिकतम् राजनीतिक सहमतिका आधारमा प्रदेशको नाम राखिने बताएका छन् ।

झापाको बिर्तामोडमा प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले नाम राख्ने विषयमा थप ढिलाइृ नगर्ने बताएका हुन् ।

‘सकेसम्म राजनीतिक सहमति जुटाएर नाम राखिन्छ । सहमति नजुटे कानुन अनुसार प्रदेशको नाम राख्छौँ’, मुख्यमन्त्री कार्कीले भने, ‘यो विषय छिट्टै टुंगो लाग्छ ।’ उनले जन अपेक्षा अनुसार मन्त्रालयको संख्या घटाएर आफूले सुधारको प्रयास थालेको बताए ।

प्रदेश सरकारको अघिल्लो कार्यकालमा पनि एमालेका तर्फबाट आफूले महत्वपूर्ण मन्त्रालय सम्हालेको जनाउँदै अहिले मुख्यमन्त्री भइसकेपछि प्रदेशको नाम राख्ने विषयमा थप ढिलाई गर्ने मनस्थितिमा आफू नरहेको मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।

उनले आफू यसअघि आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री हुँदा स्थापना गरिएको पुरानो सञ्चार प्रतिष्ठान व्युँताउने बताए । उनले अब कानून बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताए ।
पत्रकार उपचार कोष सञ्चालन र पेशागत सुरक्षाका लागि प्रदेश सरकारले आवश्यक काम अगाडि बढाउने मन्त्री कार्कीको प्रतिवद्धता छ ।
मुख्यमन्त्री कार्कीले चौतारीको स्थापना दिवसका अवसरमा झापामा चारदशकदेखि वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय पत्रकारहरु नकुल काजी, नेत्र पाठक, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री, केशव आचार्य र मरणोपरान्त पत्रकार माया पकुवाललाई अभिनन्दन तथा सम्मान गरेका छन् ।

कार्यक्रममा पत्रकार पाठकलाई अभिनन्दन गरिएको हो । उनी प्रेस चौतारी झापाका पहिलो अध्यक्ष हुन् । वामपन्थी पत्रकारलाई संगठित गर्दै चौतारीलाई आजको दिनसम्म ल्याउन पाठकको महत्वपूर्ण भूमिका छ । कार्यक्रम प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार ००:००  ८ : ०७ बजे