१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप




झापा- नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टीममा फिर्ता बोलाएको छ । निलम्बन फिर्ता लिएको दुई दिनपछि क्यानले लामिछानेलाई राष्ट्रिय टीममा फिर्ता बोलाएको हो ।

एक नाबालिकाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा गत २१ भदौमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका उनी २९ मंसिरमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका थिए ।

रिहा भएपछि क्यानले फिर्ता बोलाउने बताउँदै आएको थियो । पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकबाट लामिछानेको निलम्बन फिर्ता भएको थियो । निलम्बन फुकुवापछि क्यानले राष्ट्रिय टीममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो ।

प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टीममा सन्दीपको आवश्यकता देखेर समावेश गरिएको जानकारी दिए । उनले आगामी मार्च १ देखि नेपालमा आयोजना हुने आइसिसी मेन्स क्रिकेट विश्वकप लिग २ लाई ध्यानमा राखेर सन्दीपलाई टीममा फर्काइएको प्रतिक्रिया दिएका छन् ।

अब उनको फिटनेस र फिजियो परीक्षण हेरिने चौधरीले बताए । स्रोतका अनुसार आजै उनले त्रिवि खेल मैदानमा केहीबेर अभ्यास गरेका थिए । त्यसअघि उनले प्रमुख प्रशिक्षक मोन्टी देसाईसँग पनि भेटेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार ००:००  १० : ३१ बजे