८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बलात्कार मुद्दामा सफाई पाए पनि जेल मुक्त हुने छैनन् पल शाह



झापा-बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिए पनि उनी जेलमुक्त भने नहुने भएका छन् । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।

यसअघि शाहलाई बाल यौन दुरुपयोग आरोपमा दुई वर्ष ६ महिना जेल सजाय तोकिएको थियो । पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसलापछि शाह तनहुँ कारागारमा छन् ।

नवलपुर अदालतले २१ भदौमा दुई वर्ष ६ महिना कैदको फैसला सुनाएकाले शाहले भुक्तानका लागि जेलमै बस्नुपर्नेछ । उक्त सजाय पूरा भएपछि मात्रै शाह जेल बाहिर आउनेछन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा शाहमाथि तनहुँ र नवलपरासी पूर्वमा मुद्दा दायर भएको थियो । जिल्ला अदालत नवलपरासी पूर्वले पनि यसअघि शाहलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन
पल शाहलाई नाबालिका बलात्कार अभियोगमा दोषी ठहर गर्दै साढे दुई वर्षको जेल सजाय सुनाएको नवलपुर अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता भएको छ ।

शाहका कानुन व्यवसायी कमलमोहन वाग्लेले उच्चबाट आउने फैसलाका आधारमा शाह जेलमुक्त हुने–नहुने टुंगो लाग्ने बताए । ‘उच्च अदालत पोखराबाट सफाइ पाउनुभयो भने मात्र उहाँ कारागारबाट छुट्नुहुन्छ, नत्र कारागारमै बस्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार ००:००  ९ : १२ बजे