८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कनकाई नगरपालिकाको आफ्नै स्वामित्वमा अक्सिजन प्लान्ट



बिर्तामोड- झापाको कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरेको छ । जिल्लाका १५ स्थानीय तहमध्ये आफ्नै स्वामित्वमा रहने गरी कनकाईले झापामा पहिलोपटक अक्सिजन प्लान्ट स्थापना गरेको हो ।

कोरोना संक्रमणको तेस्रो लहर चलिरहँदा कनकाईले अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाएको थियो । नगर प्रमुख राजेन्द्र पोखरेल आफैँले प्लान्ट स्थापनाका लागि १० लाख रुपैयाँ दिएपछि नगरबासीले स्वतस्फूर्त सहयोग रकम जम्मा गरेका थिए ।

समुदाय तहबाट प्राप्त भएको सहयोग र नगरपालिकाको आफ्नै लगानीमा अक्सिजन प्लान्ट स्थापना भएको नगर प्रमुख पोखरेलले बताए ।

‘कोरोना संक्रमणका बेला अक्सिजन नपाउँदा धेरै ठूलो समस्या व्यहोर्नु परेको थियो’, नगर प्रमुख पोखरेलले भने, ‘अब आफ्नै प्लान्ट छ, भनेका बेला चाहिएजति अक्सिजन उपलब्ध हुन्छ ।’

कनकाई–३ स्थित नगर अस्पताल परिसरमा अक्सिजन प्लान्ट राखिएको छ । प्लान्टबाट अक्सिजन उत्पादन हुन थालिसकेको नगर प्रमुख पोखरेल बताउँछन् ।

देश विदेशमा रहेका नगरबासीले अक्सिजन प्लान्ट स्थापनाका लागि ५८ लाख रुपैयाँ सहयोग गरेका छन् । नगरपालिका आफैँले प्लान्टका लागि एक करोड सात लाख रुपैयाँ खर्चिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेका अनुसार ललितपुरस्थित एभरेष्ट लाइन सप्लायर्सले प्लान्ट उपलब्ध गराएको हो ।

अक्सिजन प्लान्टका सबै सामग्री टर्कीबाट ल्याइएका हुन् । अक्सिजनको शुद्धतालाई ध्यान दिएर युरोपियन ब्राण्ड रोजिएको नगर प्रमुख पोखरेलले बताए ।

प्लान्टबाट दैनिक ४० लिटर क्षमताका १६० वटा सिलिण्डरमा अक्सिजन भर्न सकिने सप्लायर कम्पनीका बायोमेडिकल इन्जिनियर प्रवल वाग्ले बताउँछन् ।

एउटा ४० लिटरको सिलिण्डर २० देखि ३० मिनेटमा भर्न सकिन्छ । ‘एक पटकमा १२ वटा सिलिण्डर भर्न सकिन्छ’, इन्जिनियर वाग्लेले भने ।

अक्सिजन प्लान्टका दातालाई सम्मान
कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनामा सहयोग गर्ने ५० जना दातालाई सम्मान गरेको छ । प्लान्ट उद्घाटनका अवसरमा नगर अस्पताल परिसरमा आयोजित समारोहका बीच दातालाई प्रशंसापत्र प्रदान गरिएको हो ।

प्लान्ट स्थापनामा सहयोग गरेका ११७ जनामध्ये पहिलो चरणमा ५० जनालाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानले बताए । प्लान्ट स्थापनाका लागि देश विदेशमा रहेका कनकाई नगरबासीले सहयोग गरेका थिए ।

नगरका विभिन्न विद्यालयका पूर्व विद्यार्थीका अग्रसरतामा समेत उल्लेख्य सहयोग प्राप्त भएको थियो । नगर उपप्रमुख आशा शर्मा सिवाकोटीले नगरको योजनामा समुदाय तहबाट प्राप्त भएको सहयोगले रचनात्मक काम भएको बताइन् ।

कनकाईका जनतालाई अक्सिजन निशुल्क दिने मेयर पोखरेलको घोषणा

कनकाई नगरपालिकाले नगरका जनतालाई अक्सिजन निशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । सोमवार नगर अस्पतालमा अक्सिजन प्लाण्ट उद्घाटनपछि नगर प्रमुख राजेन्द्र पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै नगर क्षेत्रका विरामीका लागि चाहिने अक्सिजन निशुल्क रुपमा उपलब्ध गराउने बताएका हुन् ।

‘नगरबासी जनताका लागि निशुल्क रुपमा अक्सिजन उपलब्ध भइरहेको छ’, पत्रकारसँग नगर प्रमुख पोखरेलले भने, ‘विरामीका लागि जति चाहिन्छ अक्सिजन निशुल्क उपलब्ध गराउँछौँ ।’ नगरपालिकाले समुदाय समेतको लगानीमा औपचारिक रुपमा अक्सिजन प्लान्ट स्थापना गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार ००:००  ८ : १६ बजे