१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बिर्तामोडको पञ्चरत्न माविमा नृत्य प्रशिक्षण कक्षा



बिर्तामोड– झापाको बिर्तामोड–२ चैतुबारीस्थित पञ्चरत्न माध्यमिक विद्यालयले नृत्य कक्षा सुरु गरेको छ । मंगलवारदेखि विद्यालयमा नृत्य कक्षा सुरु भएको हो ।

अतिरिक्त सबै क्रियाकलापमा विद्यार्थीलाई दक्ष बनाउने उद्देश्य राखेर नृत्य कक्षा सुरु गरिएको विद्यालयका प्रधानाध्यापक योगेन्द्रमणि दाहालले बताए । ‘कक्षा ५ देखि १० सम्मका इच्छुक विद्यार्थीलाई नृत्य प्रशिक्षण कक्षामा सहभागी गराउँछौँ’, प्रधानाध्यापक दाहालले भने ।

साताको एकदिन मनीषा लिम्बू र चोलोहाङ लिम्बूले विद्यार्थीलाई प्रशिक्षण दिने छन् । पहिलो चरणमा ४० जना विद्यार्थीले नृत्य प्रशिक्षणमा भाग लिएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओली पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी दक्ष हुनु पर्ने बताउँछन् ।

‘पढाईसँगै खेलकुद, नृत्य लगायतका विधामा पनि विद्यार्थीले ज्ञान हासिल गर्नु अनिवार्य भएको छ’, नृत्य कक्षा शुभारम्भ गर्दै अध्यक्ष ओलीले भने ।

बालबालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलको अग्रसरतामा विद्यालयमा नृत्य कक्षा सुरु भएको हो । नृत्य कक्षा सञ्चालनको लागि स्थानीय युवा गोविन्द गिरीले ११ हजार रुपैयाँ सहयोग गरेका छन् ।

कार्यक्रममा बोल्दै शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष सुब्रत न्यौपानेले नृत्य विधामा विद्यार्थीलाई दक्ष बनाउने विद्यालयको उद्देश्यमा अभिभावकले साथ दिनुपर्ने बताए ।

अध्यक्ष न्यौपानेले बाल क्लवलाई बचतमा प्रेरित गर्न आफ्नो संस्थाले ‘प्रोत्साहन नीति’ लागू गरेको बताउँदै विद्यार्थीका लागि सहयोग गर्न तयार रहेको जनाए ।

कार्यक्रममा बालक्लवका पदाधिकारी तथा जुनियर रेडक्रस सर्कललाई व्याच वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दलबहादुर खँड्काले गरेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार ००:००  ९ : ०२ बजे