८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कचनकवल र कुमरखोदमा हात्ती पाइलेको ‘सेम्पल सर्भे’




बिर्तामोड– झापामा हात्तीपाइले रोग निवारण सम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको छ । तालिम केन्द्रका भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेलले झापाको दुई पालिकामा सेम्पल सर्भे गरिने बताए ।

झापाको कचनकवल गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा सेम्पल सर्भे गरिने भएको हो । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको परीक्षण कीटबाट १० मिनेटमै नतिजा आउने उनले बताए ।

मंसिर १२ गते कचनकवल र १३ गते कुमरखोदनमा सेम्पल सर्भे हुनेछ । सर्भेका क्रममा लोदाबारी र कुमरखोदका तीन÷तीन सय स्थानीयबासीको रगत परीक्षण गरिनेछ ।

रगतमा हात्तीपाइले रोगको जीवाणु रहे÷नरहेको परीक्षण गरिने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले बताए ।

छ वर्षमा झापामा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहे पनि ११ वर्षसम्म पनि सफलता मिलेको छैन । अघिल्लो पटक झापाको दमक र झापा गाउँपालिकामा २०२० मा सेम्पल सर्वेक्षणमा गरिएको थियो ।

मापदण्ड भन्दा बढीमा हात्तीपाइले रोगको जीवाणु भेटिएपछि अभियान असफल घोषणा भएको थियो । अब माघ अन्तिममा १२ औं पटक औषधि सेवनपछि जिल्लालाई हात्तीपाइले रोग निर्मूल भएको जिल्ला घोषणा गरिनेछ ।

गत वर्ष झापामा ८६ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार ००:००  ९ : १० बजे