७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सत्ता गठबन्धनको संरचना भत्किएको लिङदेनको दावी, नयाँ समीकरणमा जोड




बिर्तामोड- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचनको परिणामले वर्तमान सत्ता गठबन्धनको संरचना भत्किएको बताएका छन् ।

झापा ३ बाट दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले परिवर्तित सन्दर्भमा दलहरु बीच नयाँ समीकरण बन्ने बताएका हुन् ।

एमाले र राप्रपाबीचको सहकार्यले अपेक्षाकृत परिणाम नदिए पनि जनादेश अनुसार नयाँ समीकरण बनाएर जानुपर्ने अध्यक्ष लिङदेनले बताए ।

दुई पटक अलग विचारधारा र प्रवृत्तिसँग आफूले निर्वाचन लडेको र जनताले त्यसलाई अनुमोदन गरेको भन्दै अध्यक्ष लिङदेनले आफ्ना लागि त्यो भन्दा खुशीको अर्काे विषय नभएको बताए ।

‘भगवानरुपी मतदाताको अपेक्षामा कहिल्यै घात गर्ने छुइँन’ आफू निर्वाचित भएको प्रमाणपत्र बुझ्दै अध्यक्ष लिङ्देनले भने । उनलाई प्रमुख निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरे ।

नेपाली काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दे राप्रपा अध्यक्ष लिङ्देन दोस्रो पटक झापा ३ बाट निर्वाचित हुनु भएको हो । अध्यक्ष लिङ्देनले नेता सिटौलालाई तीनहजार दुईसय ७६ मतले पराजित गर्नु भएको छ ।

लिङ्देनले ४० हजार ६ सय ४८ मत पाइरहँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गर्नु भएको छ । २०७४ को निर्वाचनमा पनि अध्यक्ष लिङ्देनले नेता सिटौलालाई पराजित गर्नु भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार ००:००  ८ : ५१ बजे