७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विरीङ नदीमा छठको रौनक, चारसय घाट निर्माण गरिए




बिर्तामोड-
झापाको कनकाई नगरपालिकास्थित विरीङ नदीमा यसवर्ष छठ पूजाका लागि चारसय घाट (पूजास्थल) निर्माण गरिएको छ । छठ समाज सेवा समितिले ती घाट निर्माण गरी सर्वसाधारणका लागि उपलब्ध गराएको हो ।

अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरी अर्घ दिएर मनाइने छठ पर्वको रौनक विरीङमा सुरु भइसकेको छ । आवश्यक तयारी र व्यवस्थापन अन्तिम चरणमा भइरहँदा समितिले यसलाई विशिष्ट र भव्यतापूर्वक सम्पन्न गर्न चाहेको छ ।

समितिले शनिवार साँझ बिर्तामोडमा पत्रकार सम्मेलन गरी यसवर्षको छठ पूजा जनसहभागिताका हिसावले भव्य हुने जनाएको हो । समितिका अध्यक्ष राजकुमार गुप्ताले छठ पूजामा वर्सेनि भक्तजनको आकर्षण र जनसहभागिता बढ्दै गएको बताए ।

सांस्कृतिक कार्यक्रमसहित समितिले छठ पूजा आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुन भारतीय कलाकारको टोली पनि झापा आउँदैछ ।

छठ पूजा व्यवस्थापन समितिका संयोजक राजकुमार साहले टोकन सिस्टम लागू गरी ब्रतालुलाई घाट उपलब्ध गराइएको बताए । समितिले विरीङ नदीको किनारमा दायाँवायाँ घाट निर्माण गरेको हो ।

अघिल्ला वर्षभन्दा यसवर्ष छठ पूजा कम खर्चिलो बनाउने समितिको प्रयास रहेको पूर्व अध्यक्ष घनश्याम चौधरी बताउँछन् । यद्यपि, छठ पूजामा कम्तीमा दश लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

छठ समाज सेवा समितिका महासचिव मनोजकुमार रौनियारका अनुसार पूजामा पहाडे समुदायको सहभागिता पनि बर्सेनि थपिँदो छ ।

‘यसले पनि छठ पूजाको व्यापकता बढ्दै गएको देखाउँछ’, उनले भने । अघिल्ला वर्षमा तीनसय घाट निर्माण गरिएका थिए । यसवर्ष घाटको संख्या बढाइएको हो ।

आइतवार तीन बजे विरीङ नदी किनारमा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कार्यक्रमको औपचारिक उद्घाटन गर्नेछन् ।

कार्यक्रममा सशस्त्र र नेपाल प्रहरीको सुरक्षा व्यवस्था रहने प्रवन्ध मिलाइएको छ । ट्राफिक प्रहरीले आवतजावतमा सहजीकरण गर्नेछ ।

कार्यक्रमस्थलमा एउटा एम्वुलेन्स तयारी अवस्थामा रहनेछ भने आवश्यक सहयोग र समन्वयका लागि हेल्प डेस्कको व्यवस्था मिलाइएको छ ।

पूजामा प्रतिस्पर्धा गर्नु उपयुक्त नहुने भए पनि भद्रपुरको मेची नदीमा जस्तै विरीङमा पनि जनसहभागिता रहने पूर्व अध्यक्ष चौधरीले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार ००:००  ७ : ४७ बजे