१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दशनामीद्वारा बन्धुलाई उपचार सहयोग



बिर्तामोड–नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले अति विपन्न तथा रोगी दशनामी बन्धुलाई आर्थिक सहयोग गरेको छ । नगर समितिले बिर्तामोड–६ स्थित बुट्टाबारीका ७२ बर्षीय गंगाबहादुर गिरीलाई आर्थिक सहयोग गरेको हो ।

गिरी एकबर्ष अघिदेखि जिब्रोको समस्याका कारण थलिएका छन् । नगर समितिले देउसी भैलो अभियानकै क्रममा नगद पाँच हजार एकसय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

नेपाल दशनामी समाज प्रदेश १ का अध्यक्ष तथा नगर सल्लाहकार चन्द्रप्रसाद गिरी, समाजका प्रदेश १ सह–सचिव तथा नगर सल्लाहकार पदमबहादुर पुरी (प्रकाश), समाजका प्रदेश सदस्य, झापा कोषाध्यक्ष तथा सल्लाहकार बालकृष्ण गिरी, नगर अध्यक्ष अर्जुन गिरीले संयुक्त रुपमा नगद हस्तान्तरण गरेका हुन् ।

एक बर्षअघि उनको जिब्रोमा समस्या आएर उपचार गरेपछि अहिले घरैमा बस्न बाध्य बनेका छन् । उपचारका क्रममा उनको जिब्रो काटिएको र बोलेको बुझ्न नसकिने उनकी श्रीमती मनमाया गिरीले जानकारी दिइन् ।

कतै एक चपरी माटोसम्म नभएका गिरी दम्पत्ति अहिले बेसहारा बनेको नगर सचिव उद्धव पुरीले जानकारी दिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार ००:००  ६ : ११ बजे