१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

घिमिरेसँग गुरुराष्ट्र नेपालको ‘चामत्कारिक’ एजेण्डा



झापा– राजनीतिमा सुधारको खाँचो छ । शैली र संस्कार पनि बदल्नु छ । यति भयो भने मात्रै देश बन्छ भन्छन् उनी । उनी अर्थात सन्तोष घिमिरे । उनी ४० वर्षका भए ।

झापाको बिर्तामोडका स्थायी बासिन्दा घिमिरे यतिबेला झापा क्षेत्र नम्वर २ मा प्रतिनिधिसभा सदस्य पदका उमेद्वार छन् । अध्ययनशील क्षमताका धनी घिमिरे बौद्धिक प्रतिभा पनि हुन् ।

देश बनाउने एजेण्डा जनस्तरबाट अनुमोदन गराउने उनको चाहना निर्वाचनमा जोडिन पुगेको छ । प्रत्येक दिन उनका समर्थक थपिँदै गएका छन् ।

गाउँ टोलमा उनले आफ्ना एजेण्डा जनतालाई सुनाउँछन् । असल राजनीति र संस्कारसँग जोडिएका मात्र होइन, आर्थिक विकास र समृद्धिका अनेक खाका घिमिरेसँग छन् ।

ढाँटेर र छलेर भोटको राजनीति गर्ने नेताहरुको परम्परागत प्रवृत्तिको पृष्ठभूमिबाट असल अभ्यासको खोजी गर्ने बैकल्पिक पात्रका रुपमा घिमिरेले आफूलाई जनताका अगाडि उभ्याएका हुन् ।

‘गुरु राष्ट्र नेपाल’ उनको एउटा महत्वपूर्ण एजेण्डा हो । जसमा सांस्कृतिक अर्थतन्त्र जोडिएको छ । साँस्कृतिक पर्यटन पनि नेपालको विकासका लागि गतिलो एउटा आधार हुनसक्छ भन्नेमा घिमिरे दृढ छन् ।

विश्व शान्तिको नेतृत्व नेपालले गर्न सक्छ भन्ने खाका पनि घिमिरेसँग छ । यसमा सांस्कृतिक पुनर्उत्थानको विषयलाई पनि घिमिरेले देश विकाससँग जोड्न चाहेका छन् । दीगो अर्थतन्त्र राष्ट्रियताको बलियो आधार हो भन्ने मान्यता घिमिरेको छ ।

दीपेन्द्र प्रहरी स्कूलबाट माध्यमिक तहको शिक्षा पूरा गरेका घिमिरेले कान्तिपुर सिटी कलेजबाट सूचना प्रविधिमा स्नातक गरेका छन् ।

बेलायतमा रहँदा घिमिरेले अक्सफोर्ड विश्वविद्यालय तथा जिनियस एकेडेमीमा ‘नेतृत्व विकास’ सम्बन्धी व्यवसायिक बिषयको अध्ययन गरे ।

लगभग १२ वर्षको बेलायत बसाईमा रिटेल, हेल्थ केयर तथा सूचना प्रबिधिको क्षेत्रमा पनि घिमिरेलाई अनुभव हासिल गर्ने मौका मिल्यो ।

संयुक्त अधिराज्यको इस्ट लण्डन विश्वविद्यालयबाट इनोभेटिभ टेक्नोलोजी विषय अन्तरगत कृत्रिम बौद्धिकता तथा मेसिन लर्निङमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका घिमिरे यतिबेला झापाको क्षेत्र नम्वर–२ मा घुम्दैछन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनले आफूलाई उमेद्वारका रुपमा उभ्याएका छन् । नवीन सोचको परिकल्पना तथा प्रयोग गर्न रुचाउने घिमिरेको स्वभाव छ ।

जसका कारण प्राकृतिक रुपमै घिमिरेलाई राजनीतिक रुपान्तरणको हुट–हुटी चलेको हो । विकृत बन्दै गएको राजनीतिमा सुधारको खाँचो देख्छन् उनी ।

घिमिरे विकल्प कुर्दै बस्ने होइन, विकल्प आफैँ बन्नुपर्छ भन्ने मान्यतामा दृढतापूर्वक उभिएका छन् । मनबाट मन बदलियो भने मात्रै देश बन्छ । त्यसैले सोच, शैली र संस्कार बदल्न चाहन्छन् उनी ।

अङ्ग प्रत्यङ्गबाट जसरी शरीर बन्छ, त्यसरी नै देश बनाउने महाअभियानमा उनका अनेक अङ्ग र प्रत्यङ्ग छन् । तिनैलाई मिहीन ढंगबाट जोड्न सकियो भने देश देशजस्तो लाग्छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार ००:००  ९ : ५८ बजे